News

एकैदिन ११ काेराेना संक्रमित थपिएपछि सरकारले गर्याे यस्ताे निर्णय, देशभर नयाँ तरंग

उदयपुर । मंगलबार नेपालमा थप ११ जना कोरोन संक्रमित भेटिएका छन् । यसअघि ३१ जनामा काेराेना पाेजेटिभ देखिएकाेमा अब काेराेना संक्रमितकाे संख्या ४२ पुगेकाे छ ।स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा ३ जना र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा ८ जनामा कोरोना संक्रमण देखिएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार थप संक्रमितहरु उदयपुरमा यसअघि संक्रमण पुष्टि भएका १२ जनाको संसर्गमा आएका व्यक्तिहरु हुन्।

संक्रमण पुष्टिपछि कोसी अस्पतालमा उपचार गराइरहेका १२ जनाको संसर्गमा आएका २६० जनाको नमुना काठमाडौंमा परीक्षण गर्दा ३ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ। त्यस्तै उदयपुरको त्रियुगा नगरपालिका भुल्केका रहेको नुरी मस्जिद वरपरका अन्य ६९ जनाको नमुना परीक्षणका लागि सोमबार नै कोसी अस्पताल विराटनगर पठाइएको थियो।

कोसी अस्पतालका परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएपछि पुनर्पुष्टिका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो। धरानमा पनि कोरोना पोजिटिभ देखिएपछि उनीहरुलाई थप उपचारका लागि कोसी अस्पताल पठाइएको मन्त्रालयले जानकारी दिएको छ। थप संक्रमित ११ जनामा १८, १८, २०, ३३, ४०, ४१, ५२, र ५८ वर्षीय पुरुष तथा ३६ वर्षीया महिला र एक जना उमेर नखुलेकी महिला रहेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि मन्त्रालयले जानकारी दिएको छ। संक्रमण पुष्टि भएकामध्ये ४ जना निको भएर घर फर्किइसकेका छन् भने ३८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। यसैबीच उदयपुरको भुल्केमा थप ११ जनामा कोभिड–१९ को संक्रमण रहेको पुष्टि भएसँगै सरकारले मंगलबारबाट पुरै जिल्लालाई चारैतिरबाट सिल गर्ने निर्णय गरेको छ ।

उदयपुरबाट अन्य जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि यस्तो निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले उदयपुर जिल्लाभित्रै पनि अन्य ठाउँमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन तथा उदयपुरबाट अन्य जिल्लामा पनि संक्रमण फैलिन नदिन पूर्ण रुपमा लकडाउनका साथै सिल गर्ने निर्णय गरिएको बताए।

‘उदयपुर जिल्लाभित्र पूर्ण रुपमा लकडाउन गर्ने र जिल्लाको सबै नाका सिल गर्ने निर्णय गरेका छौं,’ उनले भने, ‘जिल्ला सुरक्षा समितिको निर्णय गरी सर्वदलीय संयन्त्रको साथ सहयोगमा जिल्लालाई पूर्ण लकडाउन र सिल गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छौं।’ स्थानीय प्रशासनले जिल्लाभरी लकडाउन गरिसकेको र जिल्ला पनि सिल गर्ने तयारी गरिररहेको जानकारी आएको मन्त्री कार्कीले बताए। संघिय सरकारकाे सल्लाहमा प्रदेश सरकारले यस्ताे निर्णय गरेकाे हाे ।

नेपालमा कोरोना संक्रमण तेस्रो चरणमा प्रवेश !उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित नुरी मस्जिद वरपर बसोबास गर्ने ११ जनामा पनि कोभिड–१९ भाइरसको संक्रमण रहेको पुष्टि भएसँगै नेपालमा पनि कोरोना संक्रमण तेस्रो चरण, ‘कम्युनिटी ट्रान्समिसन’मा प्रवेश गरेको छ ।

भुल्केको नुरी मस्जिदमा बसेका १२ भारतीयमध्ये ११ र विराटनगर–१७ का एकजनामा गत शुक्रबार नै कोरोना संक्रमण रहेको पुष्टि भइसकेको थियो भने विराटनगरका थप एकजनामा शनिबार संक्रमण भेटिएको थियो। यस्तै, मस्जिद भएको बस्तीका ६० जना सर्वसाधारण र ९ जना कर्मचारीको गरी कुल ६९ जनाको थ्रोट स्वाबको नमूना शनिबार संकलन गरिएकोमा ८ जनाको रिपोर्ट पोजिटिभ आएको हो। स्वास्थ्य मन्त्रालयले मंगलबार मात्रै थप ११ जनामा संक्रमण पुष्टि गर्दै संक्रमितको कुल संख्या ४२ पुगेको जनाएको छ।

सुरुमा कोशी अस्पतालमा गरिएको स्वाब परीक्षणमा उनीहरुमध्ये ६० जनाको रिपोर्ट नेगेटिभ आएको र ८ जनामा कोरोना संक्रमण देखिएको थियो भने एकजनाको रिपोर्ट आउन बाँकी नै थियो। यस्तोमा पोजिटिभ देखिएका ८ जनालाई भुल्केबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेर परीक्षण गर्दा पनि रिपोर्ट पोजिटिभ नै आएको हो। साथै, मंगलबार नै भुल्केकै तीनजनाको काठमाडौंमा परिक्षण गर्दा भाइरसको संक्रमण रहेको पुष्टि भएको छ।

नेपाली सेनाको चिकित्सकीय टोलीले आइतबार २५१ जनाको नमुना संकलन गरेर काठमाडौं ल्याएकोमा हालसम्म भएको परिक्षणमा तीनजनाको रिपोर्ट पोजिटिभ आएको हो। योसँगै उदयपुरमा मात्रै संक्रमितको संख्या २४ पुगेको छ। मस्जिदमा बसेकाहरु गाउँबस्तीका बासिन्दाको सम्पर्कमा आएको हुनसक्ने भन्दै गाउँलेको नमुना संकलन गरेर परीक्षण गर्दा ११ जनामा पोजिटिभ देखिएको हो।

उदयपुरमा समुदायमै संक्रमण देखिएसँगै विज्ञले नेपालमा कोरोना संक्रमणको तेस्रो चरण देखिएको संकेत गरेका हुन्। वरिष्ठ जनस्वास्थ्यविद् डा. शरद वन्तका अनुसार विदेशबाट आएका व्यक्तिमा मात्र देखिनु पहिलो चरण हो भने उनीहरुको आफन्त तथा छिमेकीमा सर्नुलाई दोस्रो चरण भनिन्छ। त्यसैरी समुदायमा नै फैलिनु तेस्रो चरण हो। उनको अनुसार नेपालमा तेस्रो चरण आउनु भनेको खतराको घण्टी हो।

संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले पनि उदयपुरमा देखिएका संक्रमितहरुको संख्याले नेपालमा भाइरसको संक्रमण समुदाय स्तरमै पुगिसकेको पुष्टि हुने बताए। ‘यदि सुरुमा पोजिटिभ देखिएका ११ जना भारतीयहरुको बयानलाई सही मान्ने हो भने पनि उनीहरुलाई नेपालमा नै संक्रमण भएको देखिन्छ,’ उनले भने, ‘यस्तोमा त्यो क्षेत्रमा संक्रमितहरुको संख्या ठूलो हुनसक्छ। कन्ट्याक्ट ट्रेसिङलाई व्यापक बनाउनुपर्ने देखियो।’

जनस्वास्थ्य विद् डा. वन्तका अनुसार पनि उदयपुरमा भेटिएका २४ जनामा कोरोना पोजिटिभ कहाँबाट आयो भनेर खोज्न एकदमै जरुरी छ। ‘उनीहरुमा कहाँबाट संक्रमण भएको हो त्यसको खोजी गर्न एकदम जरुरी छ,’ उनले भने, ‘ती संक्रमित बाहिर नै संक्रमित भएर आएका हुन् वा नेपालभित्रै संक्रमित भएका हुन् त्यो पनि सोचनीय विषय हो।’

विज्ञहरुका अनुसार समुदायमा संक्रमण फैलिएको अवस्थामा झन् सतर्क रहन जरुरी हुन्छ। लकडाउन, सामाजिक दुरीको अलावा सम्भावित संक्रमितको खोजी कार्यलाई पनि तीव्रता दिनुपर्छ।

‘सरकारले मुख्यतः खोजी प्रणाली चुस्त बनाउनुका साथै सम्भावित संक्रमित समुदायलाई परीक्षणको दायरामा ल्याउनै पर्छ,’ उनले भने, ‘अब त झन् पीसीआर परीक्षणलाई बढाउनुपर्ने देखिन्छ।’ तेस्रो चरणसम्म आइपुग्दा एउटाबाट अर्कोमा मात्र होइन यसको संख्या अझ बढ्दै जाने भएकाले पनि थप सतर्क हुन आवश्यक रहेको उनको विचार थियो।

स्वास्थ्य मन्त्रालय, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाले ट्रयाकिङ र ट्रेसिङको जिम्मा लिएको छ। महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार संक्रमित व्यक्तिको खोज्ने र परीक्षणको दायरामा ल्याउने काम भइरहेको बताए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत २२ गते नेपालमा कोभिड–१९ भाइरस व्यक्तिबाट व्यक्तिमा सरेको पुष्टि गर्दै संक्रमण दोस्रो चरण, ‘लोकल ट्रान्समिसन’मा प्रवेश गरेको जानकारी गराएको थियो। नेपालमा संक्रमण दोस्रो चरणमा प्रवेश गरेको ठिक १८ दिनपछि तेस्रो चरणमा पनि प्रवेश गरिसकेको पुष्टि भएको छ।

चैत २२ गते संक्रमित भएको पुष्टि भएकी महिला यसअघि कैलालीमा भेटिएका संक्रमित पुरूषकी आफन्त थिइन्। त्यससँगै पहिलोपटक नेपाल भित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना संक्रमण सरेको पुष्टि भएको थियो।

नेपालमा देखिएका संक्रमितमध्ये पहिलोपटक विदेशबाट आएका संक्रमित व्यक्तिबाट उनको परिवारमा अर्को सदस्यमा सरेपछि नेपालमा कोरोनाभाइरसको संक्रमणलाई दोस्रो चरण अथवा ‘लोकल ट्रान्समिसन’ भनिएको थियो। दोस्रो चरण देखिएसँगै यसअघि विज्ञले नेपालमा कोरोना भाइरसको तेस्रो चरण पनि आउन सक्ने भनेर आंकलन गरेका थिए।

मंगलबारसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४२पुगेको छ भने ती मध्ये ५ जना निको भएर घर फर्किसकेका छन्। परीक्षणको दायरा बढाइएसँगै संक्रमितको संख्या पनि बढेको देखिन्छ। नेपालमा मंगलबारसम्म आरडीटी र पीसीआर विधिबाट ३६ हजार ७ सय १९ जनाको परीक्षण भइसकेको छ। कान्तिपुर दैनिकबाट

यस्तै सुदूरपश्चिमका पहिलो कोरोना संक्रमित ३४ युवक मंगलबार साँझ सञ्चो भएर अस्पतालबाट घर फर्किएका छन् । +धनगढी उपमहानगरपालिका–५ घर भएका उनी ३० दिनअघि अस्पताल भर्ना भएका थिए। लगातार दोस्रो रिपोर्ट नेगेटिभआएपछि डिस्चार्ज गरेको अस्पतालका प्रवक्ता डा जगदीश जोशीले बताए। दुबईबाट आएका उनी चैत ११ गते सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना भएका थिए। चैत १४ गते कोरोना पुष्टि भएको थियो।

यसअघि तीनपटक परीक्षण गर्दासम्म पोजिटिभ देखिएको भए पनि चौथो पटकदेखि नेगेटिभ रिपोर्ट आएको हो। उनीसहित पाँच जना संक्रमितको उपचार भइरहेको सेतीबाट आइतबार लम्कीका २१ वर्षीय युवक पनि निको भएर डिस्चार्ज भएका थिए। अन्य तीन जना संक्रमितको भने उपचार भइरहेको छ। तीमध्ये आइतबार डिस्चार्ज भएका युवाकी भाउजुको भने उपचार भइरहेको छ।

सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने १५ नियम

१. म पर्याप्त भेन्टिलेसन भएको कोठामा एक्लै बस्नेछु र यो सम्भव नभएमा छुट्टै ओछ्यानमा सुतिरहेको अर्को व्यक्तिसँग कम्तिमा १ मिटर दूरी राख्नेछु ।

२. म छट्टै वाथरूम र शौचालयको प्रयोग गर्नेछु र यदि यो सम्भव नभएमा प्रयोग गरेपछि बाथरूम र शौचालय आफै सफा गर्नेछु ।

३. म आफू बस्ने कोठा आफै सफा गर्नेछु ।

४. म घरभित्र साझा रूपमा प्रयोग हुने ठाउँहरू जस्तै भान्सा, शौचालयमा मेरो आवातजावतलाई सीमित गर्नेछु । यी साझा ठाउँहरूमा पर्याप्त भेन्टिलेसन भएको वा झ्याल खुला रहने सुनिश्चित गर्नेछु ।

५. म स्वास्थ्य संस्था जान बाहेक अन्य कामको लागि घर बाहिर जाँदिन । म काममा, विद्यालयमा वा सार्वजनिक क्षेत्रहरूमा जाँदिन र सार्वजनिक यातायातको प्रयोग गर्दिन ।

६. म नियमित रूपमा आफ्नो हात साबुन र पानीले मिची मिची २) सेकेन्डसम्म धुनेछु वा हात सफा राख्न अल्कोहलयुक्त हेन्ड सेनिटाइजर प्रयोग गर्नेछु । म हात नधोइ मेरा आँखा, नाक र मुख छुनबाट जोगिनेछु ।

७ मैले प्रयोग गर्ने गिलास,कप, खाना खान प्रयोग हुने भाडा, तौलीया रुमाल,ओछ्यान वा अन्य सामानहरू घरका अन्य व्यक्तिहरूसँग साझा प्रयोग गर्दिन । प्रयोग गरेपछि यी सामानहरू म साबुन र पानीले सफासँग धुनेछु ।

८. म अन्य व्यक्तिहरूसंग प्रत्यक्ष सम्पर्क गर्ने छैन ।

९. यदि अन्य व्यक्तिहरूसंगको सम्पर्कमा आउनु पर्दा म कम्तिमा १ मिटर (३ फिट) को दुरी राख्नेछु र म अर्को व्यक्तिसँग एउटै कोठामा हुँदा र स्वास्थ्य संस्था जाँदा मास्क लगाउनेछु ।

१०. खोक्दा वा हाच्छिउँ गर्दा म मेरो मुख र नाकलाई टिस्यु, रुमाल र कुहिनाले छोप्नेछु ।

११. म आफ्नो कोठाबाट प्रयोग गरिएको टिस्यु, रूमाल, मास्क र अन्य चीजहरू छुट्टै फोहोर फाल्ने ठाउँमा फाल्नेछु र फालेपछि तुरून्तै कम्तिमा २० सेकेन्डसम्मका लागि आफ्नो हात साबुन र पानीले मिची मिची धुनेछु । रूमाल वा पुन प्रयोग गर्ने कपडा साबुन र पानीले सफासँग धुनेछु र यसलाई घाममा राम्ररी सुकाएपछि मात्र प्रयोग गर्नेछु ।

१२. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त निर्देशनहरूको पालना गर्नेछु र आवश्यक सहयोगको लागि सधैं तयार रहनेछु ।

१३. म क्वारेन्टाइनमा रहँदा आफ्नो शरीरको तापक्रम दैनिक एक पटक जाँच्नेछु र दिइएको फाराममा रेकर्ड गर्नेछु । मलाई दिईएको निर्देशन अनुसार १४ दिनसम्म मेरो दैनिक स्वास्थ्य स्थिति बारे तोकिएको स्वास्थ्य निकायमा जानकारी दिनेछु ।

१४. कुनै पनि स्वास्थ्य समस्या देखिएको खण्डमा वा क्वारेन्टाइनमा बस्दा अन्य केही समस्याहरू भएमा तोकिएको स्वास्थ्य निकायवाट प्राप्त निर्देशनहरू अनुरूप गर्नेछु ।

१५. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको पूर्व अनुमति बिना क्वारेन्टाइन स्थान भन्दा बाहिर यात्रा गर्ने छैन । आवश्यक भएमा यहाँ सम्पर्क गर्न सक्नु हुनेछ ।

नेपाल लकडाउन

Related Articles

Back to top button
Close