News

रमजान पर्व आजबाट सुरु, घरमै नमाज पढ्न मुस्लिम आयोगको आग्रह

इस्लाम धर्मावलम्बीहरूको रमजान पर्व आजदेखि शुरु भएको छ । इस्लामी पात्रो हिजरी संवत् अनुसार इस्लाम धर्मालम्बीहरूको नवौँ महिनालाई ‘रमजान’ भनिन्छ । यो महिनाभर दिनभर केही पनि नखाइ निराहार रोजा अर्थात व्रत बस्ने गर्छन् ।

इस्लाम धर्मावलम्बीहरूको आठौँ महिनाको अन्तिम दिनमा आकाशमा चन्द्रमा उदाएपछि रोजा सुरू हुन्छ । रमजान सुरू भएको दिनदेखि बिहान व्रत सुरू हुनुपूर्व र साँझ व्रत तोडिनुअघि हरेक दिन नियमितरूपमा नमाज पढ्ने चलन छ ।

व्रत समयावधिभर होहल्ला नगरी एकदमै अनुशासित तरिकाले बस्नुपर्ने भएकाले संयमित भएर व्रत बस्ने चलन रहेको इस्लाम धर्मावलम्बीहरू बताउँछन् । यो महिनाभर व्रत बस्नाले आँटेको पूरा हुने विश्वास गरिन्छ ।

रमजान सकिने दिन अर्थात् ३० दिनको रोजा सकिएको भोलिपल्ट कष्टकर व्रतबाट छुटकारा पाएको भन्दै धुमधाम तरिकाले खुशीयालीका साथ ‘इदउल फित्र’ पर्व मनाउने चलन छ ।

मुसलमान समुदायको लागि यो खुशीयालीको पर्व हो । रमजान पर्वको बेला यसपाली मस्जिदमा भिडभाड नगरि घरभित्रै नमाज पढ्न मुस्लिम आयोगले आग्रह गरेको छ ।

रोगको कुनै जात र धर्म नहुने भन्दै आयोगले सरकारले लागु गराएको ’लकडाउन’ तथा सामाजिक दूरीका नियमहरू पर्वका बेला पनि पालना गर्न सबैलाई अपिल गरेको हो ।

Related Articles

Back to top button
Close