News

कोरोनाको महामारीसंग जुधेको भारतमा कोरोना ह्वात्तै बढ्यो, २०० जना स्वास्थ्यकर्मीहरुलाई नै कोरोना सरेपछि झनै चुनौतिपूर्ण बन्दै !

भारतको राजधानी नयाँ दिल्लीमा मात्र कोविड १९ का कम्तीमा पनि २०० जना चिकित्सकसहितका स्वास्थ्यकर्मी संक्रमित भएका बताइएको छ । दिल्ली राज्यका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले सो कुराको जानकारी दिनुभएको हो । उहाँले नयाँ दिल्लीमा मात्र २०० जना स्वास्थ्यकर्मी कोविड १९को संक्रमण भएका बताउनुभएको हो ।

उहाँले दिल्लीमा मात्र कोविडका बिरामीको संख्या ३ हजार नाघेको बताउनुभयो । उहाँले यहाँ ३ हजार १०८ जनामा यो संक्रमण देखिएको जानकारी दिनुभयो ।उहाँले मङ्गलबार भन्नुभयो– यहाँ सरकारी तथा निजी अस्पताल सबैमा गरेर २०० जना स्वास्थ्यकर्मी कोविड १९ को विरामी परेका छन् । उहाँले यहाँका अस्पतालहरुमा दिन प्रतिदिन संक्रमित हुने स्वास्थ्यकर्मीहरुको संख्या बढ्ने गरेको पनि बताउनुभयो ।

कोविड १९ का भन्दा अरु अस्पतालका स्वास्थ्यकर्मी बढी संक्रमित

तर उहाँले दिएको जानकरीअनुसार कोविड १९को उपचाराक लागि तोकिएका अस्पतालमा भन्दा बाहिरको अस्पतालका स्वास्थ्यकर्मीहरुमा यो संक्रमण देखिएको बताउनुभयो । उहाँले दिल्लीको बाबु जग्जीवन राम मेमोरियल अस्पतालबाट मात्र ६० जना स्वास्थ्यकर्मीमा यो संक्रमण देखिएको जानकारी दिनुभयो ।

उहाँले दिल्लीमा मात्र ३ हजार १०८ जना संक्रमित भएकोमा ८७७ जना विरामी निको भएका छन् । हाल त्यहाँ २ हजार १७७ संक्रमित उपचाररत छन् । उहाँका अनुसार हिजोमात्र १९० जना संक्रमित दिल्लीमा थपिएका छन् । यहाँ ५४ जनाको ज्यान गएको छ । उहाँका अनुसार नयाँ दिल्लीमा गएको १३ दिनमा कोविड १९ का संक्रमितको संख्या दोब्बर हुन पुगेको छ । स्वास्थ्यमन्त्री जैनले भन्नुभयो– नयाँ दिल्लीमा लकडाउनका कारणले गर्दा यो रोग तीब्र गतिमा फैलिन नपाएको हो र लकडान नगरेको भए यहाँ यो संक्रमण अनियन्त्रित हुनेथियो ।

लकडाउन कहिलेसम्म लम्बिन्छ ?

उहाँलाई सम्वाददाताहरुले सोधेको लकडाउन अझ कहिलेसम्म हुन्छ भनी सोधेको प्रश्नमा भन्नुभयो– अझ ७ दिन त बाँकी नै छ, त्यतिन्जेल हेरौँ यो संक्रमणको फैलावटको अवस्था कस्तो हुन्छ त्यसैको आधारमा हामी आगामी दिनको बारेमा निर्णय गर्नेछौँ ।

हाल त्यहाँ जारी रहेको लकडाउन आगामी मे ३ सम्मका लागि रहने छ । त्यसपछि के गर्ने भन्ने बारेमाा कुनै पनि राज्य तथा केन्द्र सरकारले पनि कुनै निर्णय गरिसकेका छैनन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार मात्र पनि भारतका मुख्यमन्त्रीहरुसँग यस विषयमा भिडियो कन्फ्रेन्स बैठक गर्नुभएको थियो ।

दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल पनि सो बैठकमा सहभागी हुनुभएको थियो । मुख्यमन्त्री केजरीवाल भने दिल्लीमा यो संक्रमणको विस्तार दर निकै बढ्दै गएकोले लकडाउनको अवधि थप्नुपर्छ भन्नेमा हुनुभएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या २९ हजार ४३५ भएको मङ्गलबार जनाइएको छ । गएको २४ घन्टायता भारतमा एक हजार ५४३ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन.् ।

मङगलबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरूको संख्या २९ हजार ४३५ जना पुगेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको हो । उक्त मन्त्रालयका अनुसार भारतभर गएको २४ घन्टायता मृत्यु हुनेको संख्या ६२ जना रहेको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ९३४ पुगेको छ ।

भारतमा देखिएका यी संक्रमितहरूमध्ये ६ हजार ८६८ जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार हाल यहाँ २१ हजार ६३२ कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत रहेका छन् । शुरुदेखि नै भारतको महाराष्ट्र कोरोना भाइरसबाट अत्यन्त प्रभावित राज्यको रूपमा रहेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मङ्गलबार पनि यो क्रम जारी नै रहेको उक्त मन्त्रालयले जानकारी दिएको छ । महाराष्ट्र राज्यमा मात्र संक्रमितहरूको संख्या ८ हजार ५९० जना पुगेको उक्त मन्त्रालय बताएको छ । यसैबीच महाराष्ट्रमा ३६९ जनाको निधन भएको छ । संक्रमित मध्ये १ हजार २८२ जना भने निको भएका छन् ।

महाराष्ट्रपछि गुजरात यस भाइरसको संक्रमण दोस्रो स्थानमा रहेको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आज दिएको जानकारीअनुसार गुजरातमा ३ हजार ५४८ सक्रमित रहेका छन् । संक्रमित मध्ये २९४ जना निको भएका छन् भने १६२ जनाको भने मृत्यु भएको छ ।

दिल्लीमा ३ हजार १०८ मा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमित मध्ये ५४ को ज्यान गएको छ । यसैबीच ८७७ जना उपचारपछि घर फर्किएका समाचारमा जनाइएको छ । भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरू थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

Related Articles

Back to top button
Close