Monday, January 25

सुनसान जंगलमा आफूलाई चेनमा ताल्चा लगाएर रुखमा बाँधे, निस्कन सकेनन्ः दुई वर्षपछि भेटियो कंकाल

January 6, 2021 93

मस्को पुलिसले हालै शहरभन्दा करिब १२८ किलोमिटर टाढाको जंगलमा रुखमा बाँधिएको एक नरकंकाल भेटेको छ । अनुसन्धानमा पत्ता लागेअनुसार यो कंकाल इवान क्लूशारेवको हो जसलाई अन्तिम पटक मस्कोमा नै दुई वर्ष अघि देखिएको थियो ।

रुसी पुलिसका अनुसार इवान हाइकिङ र ‘सर्वाइभल स्किल्स’मा अनुभवी थिए । उनी मानिसहरुलाई चकित पार्ने किसिमको क्रियाकलाप गर्न चाहन्थे । यसै कोसिसमा उनले शतूराको सुनसान जंगलमा आफूलाई चेनमा ताल्चा लगाएर रुखमा बाँधेको हुनसक्ने र त्यो खोल्न असफल भएको हुनसक्ने अनुमान पुलिसले गरेका छन् । उक्त जंगलमा हत्तपत्त कोही पनि नजाने पुलिसले जानकारी दिएको छ ।

पुलिसले घटनास्थलको अगाडि एउटा टेन्ट र रुख क्यामरा पनि भेटेका छन् । पुलिसले भने, ‘घटनास्थल हेर्दा यस्तो लाग्यो कि इवान साहसी काम गरेर रेकर्ड गराउन चाहन्थे ।’ घटनास्थलबाट पाँच हत्कडी, केही फलामको चेन, ताल्चा र किताब पनि भेटेको बताइएको छ ।

रुसको इन्भेस्टिगेटिव कमेटीका अनुसार इवान कठिन परिस्थितीमा आफ्नो ‘सर्भाइभल स्किल्स’ को परीक्षण गर्ने समूहका सदस्य थिए भन्ने कुराको दुईमत छैन । यद्यपी, युवकको मृत्युको कारण फोरेन्सिक अनुसन्धानपछि नै सार्वजनिक हुने अनुमान गरिएको छ । पुलिसले इवानको क्यामरा र कम्प्युटरको अनुसन्धान गरिरहेको छ ।
पहिलो पटक कंकाल देख्ने स्थानीय एडुअर्ड कारपोवले यसको स्थितीबारे जानकारी दिए ।

उनले भने, ‘मैले रुखमा बाँधिएको हूडी (टोपी भएको टिसर्ट) लगाएको खप्पर देखेँ । उनको कंकाल रुखको पातले ढाकिएको थियो ।’ अधिकारीका अनुसार इवानको नाम हराएका मानिसको सूचीमा पनि थियो तर यसअघि शतूरा जंगलमा उनलाई खोजीकार्य असफल भएको थियो ।

प्रतिकृया दिनुहोस्