News

धनगढीकी संक्रमित महिलाको छैटौं रिपोर्ट पनि पोजेटिभ

डडेल्धुरा : धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको छैटौं रिपोर्ट पनि पोजेटिभ आएको छ। २८ दिनदेखि उपचाररत धनगढी उपमहानगरपालिका ५ की ३४ वर्षीया ती महिलाको छैटौं पटकसम्म गरिएको थ्रोट स्वाब परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ।

चैत २२ गते उनमा पहिलो पटक कोरोना भाइरस पुष्टि भएको थियो। संक्रमित महिलाको छ पटकसम्म परीक्षण भइसकेको र सबै रिपोर्ट पोजेटिभ आएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।

चिकित्सकहरुको सल्लाहअनुसार उनको थ्रोट स्वाब संकलन गर्दै फेरि परीक्षण गरिने अस्पतालका सूचना अधिकारी श्रेष्ठले बताए। उनका अनुसार दुईपटकसम्म रिपोर्ट नेगेटिभ आएमा उनलाई अस्पतालले डिस्चार्ज गरिनेछ।

उनीसँगै भर्ना भएका दुई जना, अगाडि भर्ना भएका एक जना र पछाडि भर्ना भएकी एक जना गरी चार जना कोरोना संक्रमित भने डिस्चार्ज भइसकेका छन्।

लम्कीचुहा नगरपालिकाका २१ वर्षीय युवक, धनगढी उपमहानगर ५ का ३४ वर्षीय युवक, लम्की चुहा नगरपालिका १ की ६१ वर्षीया महिला र कञ्चनपुरको बेदकोट नगरपालिकाका ४० वर्षीय पुरुष अस्पतालबाट डिस्चार्ज भइसकेका हुन्।

हाल सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उनको मात्रै उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ। कोरोनाको रिपोर्ट पोजेटिभ देखाए पनि उनमा कुनै समस्या नदेखिएको जनाइएको छ।

३४ वर्षीया ती महिलामा दुबईबाट आएका उनका ३४ वर्षकै देवरबाट कोरोना सरेको आशंका गरिएको छ। उनका देवर भने निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।

Related Articles

Back to top button
Close