News

नेपालगन्जको सन्देश : कोरोना संकट भुसको आगोझैं फैलिँदै छ नेपालमा

काठमाडौं । बाँकेको नेपालगन्जमा आइतबार एकैपटक १५ जनामा कोरोना संक्रमित फेला परेपछि देशभर चिन्ता छाएको छ । सोमबार बिहानसम्म नेपालमा ७५ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

नेपालगन्जको मस्जिद र मदरसामा पढाउँदै र बस्दै आएका एकजना ६० वर्षीय वृद्धको प्रत्यक्ष र अप्रत्यक्ष सम्पर्कमा रहेका १५ जनामा कोरोना पोजेटिभ देखिएको हो । ती वृद्धमा गत शुक्रबार मात्रै कोरोना संक्रमण देखिएको पुष्टि भएको थियो । उनीहरु सबै नेपालगन्जको महेन्द्रपार्क क्षेत्र नजिकै एउटै टोलका बासिन्दा हुन् । पहिलो संक्रमित व्यक्तिको परिवार सातजनाको छ ।

एउटा परिवारका सातैजनाको अझै नमूना परीक्षण भइसकेको छैन । आइतबार संक्रमण पुष्टि भएका सबैलाई बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसुलेसनमा राखेर उपचार गरिँदै छ । सबैको अवस्था सामन्य देखिएको भेरी अञ्चल अस्पतालले निकालेको सूचनामा उल्लेख छ ।

६० वर्षीय वृद्धमा कोरोना देखिएपछि तीन दिनदेखि नेपालगन्जका धम्बोजी, एकलइनी फुलटेक्रा र महेन्द्रपार्क नजिकका केही मस्जिद र मदरसालाई सिल गरी संक्रमतिको पहिचान र खोजी कार्य गर्न थालिएको छ । सात वर्ष उमेरसम्मका बालबालिकमा समेत संक्रमण देखिएपछि नेपालगन्जको अवस्था निकै जोखिमपूर्ण बनेको छ ।

नेपालगन्ज महेन्द्रपार्क नजिकै वडा नम्बर ८ मा रहेको एउटा मस्जिदमा नवाज पढ्न जाने र मदरसामा समेत पढाउान जाने आउने गरेका पहिलो संक्रमित बृद्धबाटै टोलका धेरैमा संक्रमण फैलिएको हुन सक्ने भन्दै विश्व स्वास्थ्य संगठनको टोली अनुसन्धानका लागि नेपालगन्ज आइपुगेको छ ।

शनिबार र आइतबार गरीदुई दिनमा संक्रमतिको सम्पर्कमा रहेका करिब डेढसय जनाको स्वाव परीक्षण गरेको छ । यसैक्रममा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीले संक्रमितसँग सम्पर्कमा आउनेको सूची नै तयार गरेर खोजी गर्दै आएका छन्।

संक्रमितको सम्पर्कमा आउनेहरुमा कोरोना भाइरस संक्रमण भएको फेला परिसक्दासमेत सिल गरिएका जोखिमपूर्ण टोल र क्षेत्रका मानिस ओहोरदोहोर गरिरहेकाले संक्रमण अझै फैलिन सक्ने खतरा बढेको छ ।

मुस्लिम समुदायमा आपसमा घुलमिल धेरै हुन्छ । एउटै परिवारमा धेरै सदस्य हुन्छन् । जसले गर्दा एउटा संक्रमित भएमा धेरैमा फैलिन सक्ने अवस्था रहन्छ । नेपालगन्ज घटनाले अर्को सन्देश दिएको छ । त्यो के भने नेपालमा समुदायमा कोरोना संक्रमण फैलिसकेको छ । बालबालिका र वृद्धवृद्धा यसको चपेटामा पर्ने देखिएको छ ।

भारतबाट लकडाउनअघि र पछि गरी डेढ लाखभन्दा बढी नेपाल प्रवेश गरेका छन् । त्यहाँ संक्रमित भएकाले नेपालमा धेरैसँग भाइरस फैलाएको हुनसक्ने स्वास्थ्य विज्ञहरूले अनुमान गरेका छन् । त्यसैले सरकारले जुन ठाउँमा भाइरसको संक्रमण फैलिएको छ, त्यसलाई सिल नगरे स्थिति भयावह हुनसक्ने चिकित्सकहरूले बताउन थालेका छन् ।

Related Articles

Back to top button
Close