News

कोरोनाभाइरसः निको भइसकेका बिरामीमा देखिन थाल्यो नयाँ समस्या, वैज्ञानिकको बढ्यो चिन्ता

काठमाडौं। चीनमा कोरोनाभाइरस संक्रमणका केसमा धेरै कमी आइसकेको छ । यद्यपि यहाँ कोरोनाभाइरसको नयाँ रुप देखेर मानिसहरुको मनमा डर बढ्दै गइरहेको छ । त्यसैले यहाँ बिरामीहरुलाई मानसिक रुपमा बलियो बनाउन मनोवैज्ञानिक काउन्सिलरको समेत सहयोग लिन थालिएको छ । सबैभन्दा चिन्ताको कुरा यहाँ एकपटक ठिक भइसकेका बिरामीहरु २ महिना पछि पनि पोजेटिभ पाइन थालेका छन् ।

वुहानका एक डाक्टरका अनुसार चीनमा यस्ता केसहरु लगातार बढिरहेका छन् जहाँ मानिसहरु कोरोनाभाइरसबाट निको भइसकेपछि पनि उनीहरुको टेस्टमा पोजेटिभ रिपोर्ट आइरहेको छ र यी बिरामीहरुमा कोरोनाभाइरसको कुनै लक्षण छैन । डाक्टरका अनुसार यस्ता केसहरु ठिक गर्नु उनीहरुको लागि निकै ठूलो चुनौती बनेको छ किनकि अब देश कोरोनाभाइरसको एक नयाँ रुपसँग लड्नु परिरहेको छ । डाक्टरका अनुसार टेस्ट रिपोर्ट नेगेटिभ आएर अस्पतालबाट डिस्चार्ज भएका बिरामीमा केही समयपछि पुनः पोजेटिभ रिपोर्ट आउन थालेको छ ।

यस्ता बिरामीहरुमध्ये केही ५० देखि ६० दिन त केही ७० दिनपछि पोजेटिभ टेस्ट गरिएका छन् । मानिसहरु पटक पटक कोरोना पोजेटिभ अर्थात संक्रमित देखिनु विश्वको लागि चिन्ताको विषय बनेको छ किनकि आर्थिक नोक्सानीलाई मध्यनजर गर्दै विश्वका कैयौं देशले लकडाउन खोल्नेतर्फ विचार गरिरहेका छन् । यद्यपि चीनका अधिकारीहरुका अनुसार कोरोनाका यी नयाँ (निको भइसकेपछि पोजेटिभ टेस्ट गरिएका) बिरामीहरुबाट अन्य व्यक्तिमा संक्रमण फैलिएको पुष्टि भने भएको छैन । चीनले यस्ता केसको सटिक तथ्यांक जारी गरेको छैन तर चीनका केही अस्पतालले समाचार एजेन्सी रोयटर्सलाई बताएअनुसार यस्ता केस दर्जनौंको संख्यामा छन् ।

चीनबाहिर दक्षिण कोरियामा करिब १ हजार बिरामी ४ हप्ता वा सोभन्दा धेरै समयसम्म पोजेटिभ नै पाइएका थिए । इटलीका स्वास्थ्य अधिकारीहरुका अनुसार त्यहाँ पनि कैयौं बिरामीहरु करिब १ महिनासम्म पनि पोजेटिभ नै थिए । अहिलेसम्म चीनमा भेटिएका नयाँ बिरामहिरु कति संक्रामक छन् भन्ने जानकारी प्राप्त भइसकेको छैन । वुहानका डाक्टरहरु यी बिरामीहरुलाई लामो समयसम्म आइसालेसनमा राख्न चाहन्छन् । जिनयिनटान अस्पतालका अध्यक्ष झांग डिंग्युका अनुसार यस्तो आइसोलेसन तबसम्म जारी रहनेछ जबसम्म नयाँ बिरामी संक्रामक छन् कि छैनन् भन्ने थाहा हुँदैन । उनले अहिले यो जनताको सुरक्षाको लागि गरिएको बताए ।

झिंग्युका अनुसार यस किसिमका केसले अस्पतालमाथि धेरै दबाब बढिरहेको छ त्यसैले मानिसहरुको तनाव कम गर्नको लागि काउन्सिलरहरुको सहयोग समेत लिइएको छ । उनले भने ‘बिरामीहरुमा यस किसिमको दबाबको असर समाजमा पनि पर्छ ।’ वुहानको झोंगानन अस्पतालका उपाध्यक्ष युआन युफेंगले रोयटर्सलाई बताएअनुसार उनले पनि यस्ता केसको जानकारी पाएका छन् जुन केसमा पहिलो पटक पोजेटिभ देखिएको ७० दिन पछि पनि बिरामी पोजेटिभ नै देखिएका छन् । युआन युफेंगले भने ‘हामीले सार्स महामारीको बेलामा पनि यस्तो केही देखेका थिएनौं ।’ २००३ मा सार्सका कारण सबैभन्दा धेरै चिनियाँहरु नै संक्रमित भएका थिए ।

चीनमा कोरोनाभाइरस संक्रमितको उपचार गरेपछि दुई पटक टेस्टमा नेगेटिभ रिपोर्ट आयो भने उनीहरुलाई डिस्चार्ज गरिन्छ । यदि बिरामीमा पहिले लक्षण देखिएको थिएन भने यो प्रक्रियामा २४ घण्टा थप समय लाग्छ । केही डाक्टरहरुले यस्तो टेस्टलाई दुई पटकबाट बढाएर तीन पटक वा त्योभन्दा धेरै पटक बनाउन माग गरेका छन् । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारी गुओ यानहोंगले भने ‘कोरोनाभाइरस नयाँ किसिमको भाइरस हो । यसको बारेमा अहिलेसम्म जति जानकारी पाइएको छ त्यो निकै कम छ ।’ अर्कोतर्फ चीनका डाक्६र र विशेषज्ञ नयाँ बिरामीमा भाइरस फरक फरक तरिकाले किन फर्किरहेको छ भन्ने पत्ता लगाउने प्रयासमा छन् ।

Related Articles

Back to top button
Close