News

आज बस्ने उच्चस्तरीय समितिको बैठकले लकडाउनबारे अन्तिम रुप दिने

काठमाडौं । लकडाउनबारे अन्तिम रुप दिन उच्चस्तरीय समितिको बैठक आज अपरान्ह सिंहदरबारमा बस्दैछ । कोरोना रोकथाम तथा न्यूनीकरण गर्न गठित उच्चस्तरीय समन्वय समितिको आज बस्ने बैठकले नयाँ ढाँचालाई अनुमोदन गरी स्वीकृतिका लागि मन्त्रिपरिषदमा पेश गर्ने तयारी गरेको छ ।

सरकारले आगामी शुक्रबारदेखि लकडाउन नयाँ ढाँचामा कार्यान्वयन गर्ने भएको छ । कृषि, उत्पादनमूलक उद्योग, अत्यावश्यक वस्तुको ढुवानी तथा बिक्री र पूर्वाधार निर्माणमा रोक नलाग्ने गरी लकडाउनको नयाँ ढाँचा तयार पारिएको छ ।

गृह मन्त्रालयले तयार गरेको प्रस्तावमा अहिलेसम्म संक्रमण नदेखिएका जिल्लामा लकडाउन खुकुलो गर्न प्रस्ताव गरिएको छ । ७७ वटै जिल्लालाई उच्च जोखिम, जोखिम र सामान्य गरी तीन तहमा विभाजन गर्न प्रस्ताव गरिएको छ । संक्रमण देखिएका जिल्ला र भारतीय सीमा क्षेत्रलाई ‘रेड जोन’ घोषणा गरी थप कडाइ गर्न सुझाब दिइएको छ ।

संक्रमण नदेखिएका हिमाली र पहाडी जिल्लाभित्र आन्तरिक आवागमन खुकुलो बनाउन प्रस्ताव गरिएको छ । विद्यालय, फिल्म हल, भीडभाड हुने बजार, सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा भने अहिले लगाइएको रोकलाई नै निरन्तरता दिइने तयारी छ ।

बन्द रहेका होटल र रेस्टुराँ आन्तरिक रूपमा सञ्चालन गरेर होम डेलिभरी गर्न अनुमति दिने तयारी छ । सरकारले चैत ११ गतेबाट लागू गरेको लकडाउनको समयसीमा २५ गते सकिदैछ ।

Related Articles

Back to top button
Close