News

चीनबाट ल्याइएका सामानबाट कोरोना संक्रमण भित्रन सक्ने भन्दै तातोपानी नाकामा स्थानीयको अवरोध

चीनबाट ल्याइएका सामानबाट कोरोनाभाइरस संक्रमण भित्रन सक्ने भन्दै सिन्धुपाल्चोकको तातोपानी नाका क्षेत्रका बासिन्दाले विरोध गरेका छन्।
नाकाबाट नेपाल भित्रिएका कन्टेनरका सामानबाट कोरोना भित्रने भन्दै स्थानीय बासिन्दाले अवरोध गरेपछि तातोपानी भन्सारले छलफल गर्दैछ।
उद्योग वाणिज्य संघ, नेपाल सीमापार व्यापार संघ तथा सिन्धुपाल्चोकका बाह्रबिसे र भोटेकोशी गाउँपालिकासँग छलफल गरी अवरोध हटाउने तयारी छ।
चीनबाट ल्याइएका स्याउ र लसुनबाट कोरोना सर्न सक्ने भन्दै भन्सारमा आइपुगेका ती गाडी कुनै काठमाडौं जान नदिने स्थानीय बासिन्दाको भनाइ छ।

चीनबाट ल्याइएका स्याउ र लसुनका कन्टेनर मंगलबार अवरोधकै बीच काठमाडौं ल्याइएको थियो।
चीनबाट आएका सामान काठमाडौं पठाइसकिएको भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले जानकारी दिए।
स्याउ बोकेका चार र लसुन बोकेका तीन कन्टेनर मंगलबार नाका हुँदै काठमाडौं भित्रिएका हुन्।
‘अहिलेसम्म आएका सामानहरू काठमाडौं पठाइसकिएको छ। स्थानीय बासिन्दाको अवरोध नहोस् भनेर हामी छलफल गर्दैछौं,’ उनले भने।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले केही व्यापारीहरूले विरोध गरे पनि नाका सुचारू नै रहेको जानकारी दिए।
‘सामान ल्याउन हुन्न भनेर केही व्यापारीले विरोध गरेका थिए। तर नाका अवरोध भने छैन,’ उनले सेतोपाटीसँग भने, ‘चीनबाट आएका सामान बोकेका गाडी चलिरहेको छ।’
नाका खुलाउनेबारे केन्द्र सरकारले निर्णय गरेकोले अवरोध गर्न नमिल्ने उनले बताए।
‘केन्द्र सरकारले नाका खुलाउने निर्णय गरेपछि खुलेको हो। चीनबाट मेडिकल सामग्री र खाद्यान्नलगायत सामग्री आइरहेका छन्,’ उनले भने, ‘भारतबाट निर्वाध सामग्री आइरहेको छ। चीनबाट पनि आउँछ।’

Related Articles

Back to top button
Close