News

हात्तीवन गठबन्धनले प्रधानमन्त्री ओलीलाई फेरि तनाव

काठमाडौं–स्थायी कमिटीको बैठक नजिकिँदै जाँदा प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीमा बैचैनी बढ्दो छ । वैशाख २० गते बसेको सचिवालय बैठकमा पार्टीभित्रको समस्या समाधान गरेको बताइएपनि पार्टीभित्रको विवाद उस्तै रहेको नेताहरु बताउँछन् । सो बैठकमा सबै मिलेर जाने, सरकार र पार्टी सञ्चालनमा सबै एकजुट भएर अघि बढ्ने सहमति भएको थियो । तर त्यो सहमति फेरि टुट्न पुगेको प्रधानमन्त्रीको बुझाइ छ ।

भैंसेपाटी गठबन्धनले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने सहमति गरेको थियो तर नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कार्यकारी तथा उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधिसभामा ल्याएर प्रधानमन्त्री बनाउने सहमति भएपछि तत्कालका लागि विवाद टरेको थियो ।

तर हात्तीवनमा ओलीइतरका प्रचण्डसहितका नेताहरुको भेलापछि ओलीमा फेरि तनाव बढेको हो । अध्यक्ष प्रचण्ड जति सक्रिय भएका छन् प्रधानमन्त्री ओली पनि त्यति नै सक्रिय भएका छन् । उनले आफ्नो निवासमा नेताहरुलाई बोलाएर छलफल गरिरहेका छन् । त्यसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि साथ दिइरहेकी छिन् ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका सचिवालय सदस्य झलनाथ खनालले भने,‘प्रधानमन्त्री चिन्तित भएको पाएँ, पार्टीभित्र भइरहेको गतिविधिले के हुने हो भन्ने चिन्ता उहाँमा पाएँ ।’ जवाफमा आफूले पार्टीमा भएका निर्णय कार्यान्वयन भए कुनै समस्या नहुने बताएको खनालले बताए । यस्तै कुनैपनि निर्णय सामूहिक रुपमा गर्ने बातावरण बन्नुपर्नेमा पनि खनालको जोड थियो ।

२२ र २३ गते हात्तीवन रिसोर्टमा छलफल भएको थियो । स्थायी कमिटी बैठकको एजेण्डा तयार गर्ने जिम्मेवारी पाएका अध्यक्ष प्रचण्डले सचिवालयका सदस्यहरु माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतसँग छलफल गरेका हुन् । आज दिउँसो बस्ने सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले स्थायी कमिटी बैठकमा प्रस्तुत हुने एजेण्डा प्रस्तुत गर्नेछन् ।

हात्तीवनको निष्कर्ष
‘एक व्यक्ति एक पद’ को एजेण्डालाई कार्यान्वयन गर्न स्थायी कमिटीको बैठकमा ओलीलाई दवाव दिने नेताहरुको बीचमा सहमति भएको छ । त्यसका साथै प्रदेश १ र ३ का मुख्यमन्त्रीहरुलाई हटाएर प्रदेश १ मा भीम आचार्य र प्रदेश ३ मा अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउन दवाव दिने पनि सहमति भएको सचिवालयका एक सदस्यले बताए ।

प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको विरोध पहिलादेखि नैं हुँदै आएको थियो । उनीहरु पार्टीमा प्रदेश इन्चार्ज पनि हुन् र मुख्यमन्त्री पनि हुन् । दुईटा पदमध्ये एउटामा मात्र बस्न पाउने भनि पार्टीमा व्यापक कुरा उठेको थियो ।

एक व्यक्ति एक पद अन्तर्गत उनीहरुलाई एउटा पदमा बस्न दवाव दिने बताइएको छ । स्थायी कमिटीको बैठकमा मन्त्रिपरिषद् हेरफेरको कुरा पनि उठाउने तयारी छ । प्रधानमन्त्रीमा सचिवालय सदस्य माधवकुमार नेपालका पक्षमा सहमति नभए नेकपा अध्यक्ष प्रचण्ड नै प्रधानमन्त्री बन्ने सोचमा रहेको बताइएको छ ।

यदि प्रधानमन्त्री नफेरिए मन्त्रिपरिषद् हेरफेर गर्ने कुरा पनि उठ्ने बताइएको छ । त्यसमा प्रचण्ड–श्रेष्ठ, नेपाल–खनाल तथा ओलीको भागमा एक–एकतिहाइ हिस्सा पर्ने गरी मन्त्रिपरिषद् हेरफेर हुने स्रोतले दावी गरेको छ । त्यस्तै, सवैधानिक नियुक्ति, राजनीतिक नियुक्तिहरु पनि सर्वसम्मति हुनुपर्ने र भागबण्डामा पनि बराबरी हुनुपर्नेमा नेताहरुको जोड रहेको छ ।
स्थायी कमिटीका ४५ सदस्यीय रहेका छन् । यसमा प्रधानमन्त्री ओली अल्पमतमा छन् तर उनी स्थायी कमिर्टीमा आफ्नो बहुमत कायम गर्न हरेक एक प्रयास गरिरहेका छन् । पूर्व माओवादीहरुलाई तान्ने प्रयासमा उनी पूरा शक्ति लगाएका छन् ।

त्यसमा अहिले उनलाई सचिवालय सदस्य रामबहादुर थापा बादलले सहयोग गरिरहेका छन् । हिजो राष्ट्रपति भण्डारीले वर्षमान पुनलाई बोलाएर छलफल गरेकी थिइन् । सो छलफलमा पार्टीका सचिवालय सदस्यहरु बादल र ईश्वर पोखरेल पनि सहभागि रहेको स्रोतले दावी गरेको छ ।

त्यति मात्र होइन, उनले तत्कालिन माओवादी केन्द्रका केही नेताहरुलाई फोन पनि गरेकी थिइन् । प्रधानमन्त्री ओली पक्षका एक स्थायी कमिटीका अनुसार ओली पक्षमा २१ जना सांसद छन् । अरु तान्ने प्रयासमा लागेका छन् ।

स्थायी कमिटीको बैठकअघि पार्टीमा भइरहेको चलखेललाई देखेर पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो ट्वीटरमा लेखे, ‘हाम्रो पार्टीमा पार्टी एकताको रक्षा गर्दै कमजोरी हरुलाई सच्याएर नयाँ शिराबाट काम गर्ने सहमति भएपछि हिजोदेखि फेरि झुटा भ्रमात्मक समाचारहरु प्रचारित हुन थालेका छन् । पार्टीमा रडाको मच्चाउने योजनामा फेरि को लाग्दैछ ? सचेत होऔं । २० गतेको सचिवालय बैठकको निश्कर्ष लागू गरौं । अन्यथा नगरौं ।’

Related Articles

Back to top button
Close