Intresting

म्याग्दीमा एकैदिन दुई जनामा डेङ्गु संक्रमण


म्याग्दी, २५ बैशाख । हिमाली जिल्ला म्याग्दीमा एकैदिन दुई डेङ्गु रोगका बिरामी फेला परेका छन् । पछिल्लो सात दिनयता जिल्लामा पाँच डेङ्गुका बिरामी भेटिएका छन् ।

बेनी नगरपालिका–७ मंगलाघाट र मंगला गाउँपालिका–१ भरजुलाका एक–एक जनामा बुधबार डेङ्गु पोजेटिभ भेटिएको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो । दुवै पुरुष बिरामीको बेनी अस्पतालमा भर्ना गरेर उपचार शुरु गरिएको छ ।

मंगलाघाटका २८ वर्षीय चार दिनअघि तनहुँबाट आएका थिए । भरजुलाका बिरामी गाउँमै खेतबारीको काम र जंगलमा निउरो टिप्न गएका थिए । यसअघि वैशाख १८ गते बेनी नगरपालिका–९ घतानका ३० वर्षीय पुरुष, १९ गते बेनी–६ छापकी ५८ वर्षीया महिला र २१ गते पर्वत घर घइ बेनी–५ भिरमुनि बस्ने ३६ वर्षीया महिलामा डेङ्गु पोजेटिभ भेटिएको थियो ।

वैशाख ९ गते मंगला–५ अर्मनका १७ वर्षका पुरुषलाई एकैपटक स्क्रब टाइफस र डेङ्गु भेटिएको थियो । माघ २ गते अन्नपूर्ण–६ घारकी ६५ वर्षीया महिलामा डेङ्गु भेटिएको थियो । यसअघि भेटिएका डेङ्गुका एक बिरामीको स्वास्थ्यमा अन्य समस्या देखिएकाले पोखरा सिफारिस गरिएको छ । अन्य निको भएर घर फर्किएका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिए ।
म्याग्दीमा डेङ्गुको महामारी फैलन सक्ने जोखिम देखिएकाले सतर्कता अपनाउनुपर्ने बेनी अस्पतालका चिकित्सक नवराज बस्ताकोटीले बताए । गत वर्ष १३ डेङ्गु संक्रमितको बेनी अस्पतालमा उपचार भएको थियो । मेडिकलमा परीक्षण गराएका केही बिरामी पोखरा गएर उपचार गरेका थिए ।

बेनी बजारको गणेशटोल, मंगलाघाट, बसपार्क, पारीबेनी र भिरमुनिलाई डेङ्गुको जोखिमयुक्त क्षेत्र मानिएको थियो । एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु सरुवा रोग हो । बर्खा र गर्मी मौसममा देखिने यो रोगबाट गत वर्ष नेपालमा डेङ्गु संक्रमितको ज्यानसमेत गएको थियो ।

पाँचदेखि सात दिनसम्म उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, आँखाको गेडी र टाउकोको पछिल्लो भाग दुख्ने शरीरमा बिमिरा आउने, हाडजोर्नी तथा मांसपेसी दुख्ने डेङ्गुको मुख्य लक्षण हुन् । टिन, रङका खाली डब्बा, टायर ट्युब, खाली ड्रमहरुमा पानी जम्न नदिने, घर, कौसीको गमला, फुलदानी, एयर कण्डिसन, कुलर, पानीको ट्यांकीमा डेङ्गु सार्ने लामखुट्टेले फुल पार्छ ।

Related Articles

Back to top button
Close