News

‘राष्ट्रपतिको टीभी सम्बोधनबाट मेरो सङ्क्रमणको खुलासा’

काठमाडौं। उच्च ज्वरो, बान्ता र निकै सुख्खा खोकी। सीता त्यासुतामीलाई कोरोनाभाइरसका सबै लक्षण थिए। उनी इन्डोनेशियाको राजधानी जकार्तास्थित एउटा अस्पतालमा भर्ना भएकी थिइन्।

तर सङ्क्रमणको पुष्टि भएको थिएन। त्यही अस्पतालमा भर्ना भएकी उनकी आमा मारिया दर्मानिङसिकको रोग पनि पुष्टि भएको थिएन। उनीहरूलाई अलग अलग कोठामा राखिएको थियो। उनीहरू दुवै परीक्षणको नतिजाको पर्खाइमा थिए। राष्ट्रपतिले एउटा अचम्मको घोषणा गरे।

राष्ट्रपति जोको विडोडोले घोषणा गरे- देशमा पहिलोपटक दुईजनामा कोभिड-१९ पोजिटिभ देखिएको छ। जसमा एकजना ६४ वर्षीय महिला र उनकी ३१ वर्षीय छोरी छन्। उनीहरूको उपचार भइरहेको छ।

सीता र उनकी आमा मारियाले अस्पतालको शैयामा बसेर टेलिभिजनबाट प्रसारित उक्त सम्बोधन हेर्दा उनीहरूलाई इन्डोनेशियामा कोरोना भाइरस सङ्क्रमण देखिएको विश्वास लागेको थिएन।

राष्ट्रपतिले बिरामीको नाम खुलाएका थिएनन्। उनको दिमाग घुम्न थाल्यो, सीताले नर्सलाई कुनै अस्पतालमा कोरोनाभाइरसका बिरामीको उपचार भइरहेको छ कि भनेर सोधिन्।

नर्सले नभएको जवाफ दिइन्।

सीताले भनिन्, “म भ्रमित भएँ। मलाई रिस उठ्यो। म दुखी थिएँ।,” उनले बीबीसीसँग भनिन्, “मलाई थाहा भएन के गरूँ भनेर। किनकि म सबै सञ्चार माध्यममा छाएकी थिएँ।”

रोग पुष्टि हुनुअघि उनी व्यवसायिक नृत्याङ्गना थिइन्। तर त्यसपछि उनको पहिचान उनलाई अपमानजनक लागेको दुई शब्दमा खुम्चियो-कोरोनाभाइरसको ‘पहिलो बिरामी’।

उनको मेडिकल रिपोर्ट चुहियो। उनको रोगबारे धेरै भ्रामक कुरा सञ्चारमाध्यममा आए। अनलाइनहरूमा गलत सूचना छरपस्ट भए। केही घन्टामै उनी इन्डोनेशियाको कोरोनाभाइरस महामारीको ‘अनुहार’ बन्न पुगिन्।

उनी र उनकी आमाले जे नतिजा आउँछ त्यो पहिले आफूहरूलाई बताइने ठानेका थिए। तर राष्ट्रपतिले मार्च २ तारिखमा जनतालाई उनीहरूको रिपोर्ट सुनाए।

के त्यसो गर्नु कानुनी रूपमा सही थियो?

इन्डोनेशिया सरकारका प्रवक्ताले भने “त्यसमा केही गल्ती भएको छैन। कानुन अनुसार सार्वजनिक हितको कुरा छ भने बिरामीको अनुमति महत्त्वपूर्ण रहँदैन। त्यसैले राष्ट्रपतिले जे गरे कानुनी रूपमा सही थियो।”

सामाजिक सञ्जालमा उनीहरूका बारेमा नराम्रा कुराहरू प्रचार भइरहेका थिए। सीतालाई इन्डोनेशियामा कोरोनाभाइरस भित्र्याएको भनेर दोषी भनिँदै थियो। तर हार्वर्ड विश्वविद्यालयको एउटा अध्ययनले चीन नजिक रहेका देशहरूमा भाइरस निकै पहिले पुगे पनि पहिचान नभएको हुनसक्ने बताएको छ।

सीता भन्छिन्, “बिरामी हुनुअघि मेरा दुई हजारभन्दा कम फलोअर थिए। कसैले मलाई घृणापूर्ण सन्देश पठाउँदैनथे। तर अब त्यो सङ्ख्या १० हजार छ। उनीहरूले मेरो फोटोमा नराम्रो प्रतिक्रिया लेख्छन्।”

उनले सञ्चार माध्यमले त्यस्ता कुराहरूमा विचार गर्नुपर्ने बताउँछिन्। जसरी आफ्नो बारेमा समाचारहरू आए त्यसबारे उनले भनिन्, “सञ्चार माध्यमले अति गरे। कसरी मेरो घर घेरियो। केके भयो। मैले सबै अस्पतालमा बसेर टीभीमा हेरेँ।” आमा मारियाका भनाइमा त्यो अनुभवले जीवन नै पूरा बदलिदिएको छ। कोभिड-१९ पछि दोस्रो जीवन पाए जस्तो भएको छ।

Related Articles

Back to top button
Close