News

अमेरिकी ग्रीनकार्ड रद्द गर्ने निर्णयमा ट्रंपले गरे हस्ताक्षर, डिभी पनि स्थगित

एजेन्सी, ११ बैशाख । कोरोना माहामारीपछि अमेरिकी नागरिकको रोजगारी सुरक्षित गर्न भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी ग्रीनकार्ड र आप्रवासमा रोक लगाउनेसम्बन्धी कार्यकारी निर्णयमा हस्ताक्षर गरेका छन् ।

आलोचकहरुले ट्रम्पको यो कदमलाई कट्टरपन्थी आप्रवासन नीति कार्यान्वयन गर्ने प्रयास भएको संज्ञा दिएका छन् । ट्रम्पले राष्ट्रपति चुनिनु अघिदेखि नै आप्रवासन नीति र आप्रवासीहरुमाथि निशाना साँध्दै आएका छन् ।

कोरोना भाइरस संक्रमण अवस्थाबारे जानकारी दिन ह्वाइटहाउसमा बुधबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, यो कदमले अमेरिकी नागरिकलाई रोजगारी सुनिश्चित गराउनेछ, हाम्रो अर्थतन्त्र खुल्नासाथ पहिलो चरणमा अमेरिकीहरुले नै रोजगारी पाउनेछन् ।

अमेरिका रहेका आफन्तबाट प्रायोजन (स्पोन्सर) सुनिश्चित गरेर अमेरिका जान खोजिरहेकाहरुको ग्रीनकार्ड पछिल्लो निर्णयसँगै खोसिने सम्भावना उच्च रहेको बीबीसीले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

राष्ट्रपति ट्रम्पले यस्तो आप्रवासलाई साङ्ले आप्रवास (चेन माइग्रेसन) भन्ने गरेका छन् । तर यसले अमेरिकी नागरिकका वैवाहिक सदस्य र २१ वर्षमुनिका व्यक्तिहरुलाई अमेरिका आउन समस्या नपर्ने अपेक्षा गरिएको छ ।

पछिल्लो कार्यकारी निर्णयसँगै डाइभर्सिटी भिसा लोटरी (डिभी लोट्री) पनि बन्द हुनेछ । डिभी लोट्र्रीमार्फत वर्षेनी ५० हजार भन्दा बढी मानिसहरुलाई अमेरिकाले ग्रीनकार्ड दिने गरेको छ ।

Related Articles

Back to top button
Close