News

यी युवती, जसलाई आफ्नो घर कहाँ, बाबुआमा कहाँ छन् समेत केहि थाहा छैन !

काठमाडौँ ।सुस्तश्रवण भएकी शर्मिला तामाङलाई आफ्नो घर कहाँ हो, बाबुआमा कहाँ छन्, केही थाहा छैन ? शर्मिलालाई बेवारिसे अवस्थामा नेपाल अपाङ्ग महिला सङ्घले सडकबाट ल्याएर आश्रय दिँदै आएको छ । बौद्धस्थित सङ्घको आवासगृहमा शर्मिलाजस्ता अन्य अपाङ्गता भइ हिं’सामा परेका महिला र बालिकाहरु बस्दै आएका छन् ।

कोरोना भाइरसको महामारीसँग विश्व समुदाय जुधिरहेका बेला काठमाडौँ उपत्यकाका दैनिक ज्यालादारीमा काम गर्ने विभिन्न श्रमिक, अपाङ्गता भएका र विपन्नलाई राहत सहयोगको शृङ्खला चलाइरहेका यति एयरलाइन्सका क्याप्टेन रमेश श्रेष्ठसहितको टोली सो आवासगृहमा राहतसहित शुक्रबार पुग्दा उनीहरुमा बेग्लै खुशी देखिएको थियो । सङ्घकी कर्मचारी मुना राईले भन्नुभयो, “यस प्रकारको सहयोग हामीलाई पहिलोपटक प्राप्त भएको हो । हामीलाई आश्चर्य लागेको छ । सहयोगदाताप्रति आभारी छौँ”, श्रेष्ठको अभियानबारे थाहा पाएका अपाङ्गमैत्री नेपालका अध्यक्ष काजीलाल श्रेष्ठले राहत टोलीलाई बौद्धसम्म पु¥याएको थियो ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान स्थगन भइ फुर्सद मिलेका बेला घरमा आनन्दसँग बस्न पनि सकिन्थ्यो तर मनकारी क्याप्टेन श्रेष्ठ बन्दाबन्दीको अवधिमा दैनिक यस्तै अभियानमा जुट्नुभएको छ । आफ्नो रु एक लाखबाट शुरु भएको यो अभियानमा अहिले उहाँले आफ्नो पेशा र अन्य मित्रहरुबाट आर्थिक र नैतिक समर्थन बोटल्नुभएको छ । काठमाडौँ महानगरपालिका वडा नं ३१, भीमसेनगोला निवासी श्रेष्ठको समूहले प्रतिव्यक्ति १० केजी जिरामसिनो चामल, दुई केजी आँटा, एक लिटर सूर्यमुखी तेल र एक केजी दाल गरी रु एक हजार ५० को राहत प्याकेज हालसम्म करिब एक हजार ७०० जनालाई उपलब्ध गराइसकेको छ । ग्यास खरिद र अन्य समस्या भएकालाई आवश्यकतानुसार जनही रु एक हजारदेखि पाँच हजारसम्म नगद पनि दिने गरिएको छ । यसक्रममा करिब रु २० लाख खर्च भइसकेको र नगदै वितरण गरिएको राशि करिब रु तीन लाख पुगेको क्याप्टेन श्रेष्ठले बताउनुभयो ।

विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल र अन्य सम्पर्कबाट सहयोग आवश्यक पर्नेहरुको जानकारी लिएर आफ्नै गाडीमा सामान ‘लोड’ गरेर प्रभावित पक्षहरुसमक्ष आफै पुगेर श्रेष्ठले राहत वितरण गरिरहनुभएको छ । भोजपुरको दावाँमा पुख्र्यौली घर भई विमान चालकका क्षेत्रमा दुई दशकको अनुभव बोकेका श्रेष्ठका साथ उहाँकी श्रीमती लीला मास्के, भाइ सुनिल श्रेष्ठ, व्यवसायी मिलन केसीको टोली राहत वितरणमा कहिले थानकोट, बालाजु, कहिले भक्तपुरको सूर्यविनायक, कहिले ललितपुरको गोदावरीसम्म पुग्ने गरेको छ । यस अभियानमा सहयोग गर्नेमा नेपाल वायुसेवा निगमका क्याप्टेन प्रदीपराज भण्डारीसहित विभिन्न पाइलटहरु छन् । अहिलेसम्म यस समूहमा ७० जना पुगिसकेका छन् ।

गोरखा भूकम्पका बेलामा पनि काभ्रेमा रु पाँच लाख बराबरको सहयोग गराएका श्रेष्ठलाई कोरोना सङ्कटका बेला यसरूपमा राहत अभियान चलाउँला भन्ने लागेको थिएन । शुरुमा स्थानीय तहले राहत बाँड्ने क्रममा वडा कार्यालयले भीमसेनगोलामा लाइन लगाउँदा वडाको सीमा २०० भन्दा बढी भएको र सबैले नपाउने भएपछि बाँकीलाई आफूहरुले सहयोग गरेर यो क्रम शुरु भएको उहाँ बताउनुहुन्छ । त्यो जानकारी सामाजिक सञ्जालमा राखेपछि श्रेष्ठलाई सहयोग आउने क्रम शुरु भयो । शुरुदेखि क्याप्टेनहरु रमोद श्रेष्ठ र गौरव बोहराले हौसलासहित सहयोग गर्दै आउनुभएको छ । पाइलटको भाइबर ग्रुपबाट पनि सहयोग जुट्न थालेको छ । शुरु गरेको तीन दिनमा रु एक लाख सहयोग जुटेपछि ६८ जनालाई राहत प्याकेज बाँडियो । त्यसपछि सहयोग गर्ने र सहयोग चाहनेहरुको सम्पर्क ह्वात्तै बढ्यो । उहाँको मोबाइल यही कामका कारण आजभोलि व्यस्त हुने गरेको छ ।

काठमाडौँमा खासगरी ज्यालादारी गर्ने मजदुर, नाङ्लो पसल गर्ने र चिया पसल चलाउने, सुत्केरी, एकल महिला, अपाङ्गता भएका व्यक्तिहरुले राहतका लागि फोन गर्ने गरेका छन् । काठमाडौँका स्थानीय तहले सकेसम्म मतदातालाई राहत दिने र मजदुरलाई राहत पाउन नाम टिपाएर लाइन बस्नुपर्ने र अन्य झन्झट व्यहोर्नुपर्ने तुलनामा श्रेष्ठको राहत दिने प्रक्रिया सहज भएको राहत लिनेहरुको प्रतिक्रिया छ ।

श्रेष्ठको अभियानमा हाल राष्ट्रसङ्घमा कार्यरत पूर्वक्याप्टेन सुदीप रिजालले रु एक लाख ५१ हजार, हिमालयन एयरका क्याप्टेन रिवाज प्रधानले रु एक लाख, अमेरिकाका राम थापाले ५०० अमेरिकी डलर, दुई महिनाअघि पोखरा–काठमाडौँ उडानमा भेटेर फेसबुकमा साथी बनेका हाल अमेरिका निवासी सरोज भट्टराईले रु ५० हजार, अमेरिकाको टेक्ससका व्यवसायी रमेश दाहालले रु ६० हजार सहयोग गरेका छन् ।

यसैगरी श्रीमती मास्केका साथी बेलायतका मधु गुरुङ र उहाँको पहलमा पनि सहयोग आउने क्रम जारी छ । बेलायतबाट पूर्वगोरखा सैनिक अभियन्ता ज्ञानराज राईले पनि सक्रिय सहयोग गरेको श्रेष्ठले जानकारी दिनुभयो । उहाँले आम्दानी र खर्चको विवरण फेसबुकमै सार्वजनिक पनि गर्दै आउनुभएको छ । यस क्रममा श्रेष्ठलाई विभिन्न राजनीतिक दलका नेताबाट पनि सहयोग र साथ मिलेको छ । उहाँ भन्नुहुन्छ, “सरकारले आफ्नो काम त गरेको छ तर समन्वयात्मकरुपमा सबै मजदुर र विपन्नलाई राहत दिन नसकेको देखिन्छ । यस स्थितिमा हामीले नागरिकका तर्फबाट यो पहल गरेका हौँ । एक प्रकारको फरक अनुभूति पनि मिलिरहेको छ ।”

Related Articles

Back to top button
Close