News

दसैँका बेला कतै बत्ती ननिभोस् -मन्त्री पुन

ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले दसैँ पर्वका समयमा देशैभर विद्युत सेवा थप चुस्त, भरपर्दो र प्रभावकारी बनाउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन्।
चाडपर्वका बेला अन्य समयमा भन्दा विद्युत् खपत बढ्ने भएकाले चनाखो भएर सेवा प्रवाह गर्न तथा विद्युत अनियमित हुन नदिन मन्त्री पुनले निर्देशन दिएका हुन्। मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइराला, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक ब्रजभुषण चौधरी, सोही निर्देशनालयका दीर्घकुमार श्रेष्ठ र भार प्रेषण केन्द्रका निर्देशक सुरेश भट्टराईसँग बिहीबार बैठक गरी ग्राहकलाई नियमित विद्युत सेवा उपलब्ध गराउन निर्देशन दिएका हुन्।
‘दसैँका बेला कहीँ पनि विद्युत काटिने समस्या नआओस्’, प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका मन्त्री पुनले भने, ‘मलाई विश्वास छ, ग्राहकबाट विद्युत प्राधिकरणले प्रवाह गर्ने सेवाबारे कुनै गुनासो आउने छैन।’
प्राधिकरणसँग माथिदेखि तलसम्म अनुभवी र दक्ष टिम रहेकाले सेवा प्रवाहमा कुनै समस्या नआउने विश्वास मन्त्री पुनको थियो। मन्त्री पुनले प्राधिकरणको उत्पादन, प्रसारण वा वितरणमध्ये कुनै पनि प्रणालीमा समस्या आए तत्काल समाधान गर्न २४ सै घण्टा ‘रेस्पोन्स’ टोली तयारी अवस्थामा राख्न आग्रह गरे।
‘जहाँ समस्या आउँछ, त्यहाँ तत्काल समाधान गराउनुस्,’ निमित्त कार्यकारी निर्देशक कोइरालालाई मन्त्री पुनले भने, ‘त्यसका लागि सञ्चालक समितिबाटै नीतिगत निर्णय गर्नुपर्ने भए मलाई खबर गर्नुस्।’

Related Articles

Back to top button
Close