News

कोरोना कहर : ९ लाख धरौटी बुझाउन नसक्दा अस्पतालले भर्ना लिएन, सडकमै गयो प्रा’ण

काठमाडौं। यो कुनै चलचित्र वा उपन्यासको प्लट होइन । यो त, राज्यको चरम अव्यवस्थाबाट सिर्जित परिघटना हो । प्रिय पाठक ! बेदबहादुरको दुर्दान्त पढेर ज्यादा भावुक बन्न र द्रवीभूत हुन जरुरी छैन । नागरिकप्रति सरकारको उदासीनताको बज्र ढिलाचाँडो तपाईं हाम्रो थाप्लमा पनि बज्रने नै छ । राज्यको नजरको सस्तो भावुकताको अर्थ नै के छ र ?

आम नागरिकजस्तै सपनाको कुम्लो, काम्लो बोकेर ओखलढुङ्गा, सुनकोसी गाउँपालिका, साविक कटुञ्जे २ का वेदबहादुर क्षत्री ५ वर्षअघि काठमाडौं भित्रिएका थिए।

काठमाडौं उनका लागि सुखद् रहेन । गाउँमा पनि उनको भागमा ऋण सिवाय केही भागमा परेको थिएन । त्यसकै तिर्न, बुझाउन बाँकी हिस्सा बोकेर काठमाडौं खाल्डो पसेका थिए । यहाँ पनि उनले ऋण नै कमाए । ऋणले ऋण काढ्दै गयो । गरिबीकै गर्तमा धकेल्दै लग्यो । दुःखको भवसागरबाट उत्रने छाँट नदेखेपछि पारिवारिक द्व’न्द्व, मनमु’टाव थपिन थाल्यो।

बेदबहादुरका नाताले सालो पर्ने रमेश कार्की अन्यमनस्क भावमा सुनाउँछन्, “त्यही त हो नि हजुर ! कमाउन नसकेपछि । जोईपोइबीच कुरा मिल्न छाड्यो।”

बौद्धकै उत्तरपट्टि डेरा लिएका थिए । सस्तो ज्याला, मजदुरी, आय–आर्जनको बाटो थियो । श्रीमती लक्ष्मीले पनि सकेजति सकाएकी थिइन्। तर, ऋणबाट पार पाउन सकेनन् । अन्ततः पारिवारिक विखण्डनको दुःखद् परिघ’टना निम्तियो।

परिवारसँग छुटिट्एर सडकमै आश्रय लिन थालेका थिए । श्रीमती लक्ष्मीले घर फर्काउन नखोजेकी पनि होइनन् । छोराछोरीको अनुहार सम्झिएर, उनीहरूको भविष्यले पिरोलेर घर आउलान् भनेर लक्ष्मीले आशाको बत्ती निभाइसकेकी थिइनन्।

तर, बेदबहादुरले मदिरालाई साथी बनाए । रक्स्याहाकै साथ मञ्जुर गरे । डेरा, परिवार त्यागेर सडकको सहारा लिएपछि उनको परिचयमा ‘भरिया’ थपिएको थियो । बौद्ध, जोरपाटी क्षेत्रमा भारि बोकेर साँझ–बिहानको छाक टार्न थाले । श्रीमान्लाई आफूसँगै राख्ने लक्ष्मीको सारा प्रयास व्यर्थ भयो।
“त्यस्तै तीन वर्ष भयो होला हजुर उहाँ सडकपेटीमा रमाउन थालेको । घर जाउँभन्दा नसुनेपछि कसको के लाग्दो रहेछ र ?,” रमेश ती दिन सम्झँदै भन्छन्।

विगत डेढ–दुई वर्षदेखि भने लक्ष्मीले वास्ता गर्न छाडेकी थिइन् । छोराछोरीले पनि बाबुको खासै वास्ता गर्दैनथे । चैत ११ गतेदेखि लकडाउन सुरु भयो । त्यसको ज्यादा असर बेदबहादुरलाई नै प¥यो । भारि बोक्ने काम पाउन छाडेपछि उनी नगरपालिकाको शरणमा परेका थिए। आफूले भारी बोकिदिएका साहूहरूकहाँ हात पसारेर साँझ–बिहान गुजार्दै आएका थिए । जेनतेन भोक भर्दै आएका थिए।

भारी बोकेर लैजाँदा त साहूकहाँ प्रवेश पाउँदैनन् उनीहरूले भोक र रोगले गाँजेका रित्ता, अनिँदा भरियाहरू कसरी भित्र छिर्न पाउनु ! सडकमा कोही भोकभोकै बस्नुपर्दैन, कोही भोका–नाङ्गा हुँदैनन् भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको दिव्यवाणी सिंहदरबारको चारपर्खाल छिचोलेर बौद्धसम्म पुग्न सकेन । कैयन् रात, कैयन् दिन बेदबहादुर भोकभोकै सडकपेटीमा बिताए।

लाग्दो कात्तिकदेखि भने अनुहारको रोगन फेरिएको थियो । सडकमै आश्रय लिने उनका साथीहरूले पनि बेदबहादुरको अनुहार डढ्दै गएको देखेर आश्चर्यचकित भएका थिए । सुरुमा त उनीहरूले मदिराको कारणले होला भनेर लख काटे । डराउन उचित ठानेनन्।

कात्तिकको २–३ गतेदेखि शरीमा ज्वरो देखा पर्‍यो । बिहान–दिउँसो ज्वरो सामान्य हुने । राति भएपछि ह्वात्तै बढ्ने । ६ महिनादेखि भारी नपाएका भरिया भाइसाथीहरूले अस्पताल पुर्‍याउन कसरी । बेदबहादुरको गलितम् शरीर देखेर विह्वल हुँदै बसे।

“ज्वरोले इन्तु न चिन्तुसँग बाटामा मुढोजस्तो भएर लडिरहेको देखेर बौद्धका एकजना शेर्पा थरका व्यक्तिले जोरपाटी, आत्तरखेलको नेपाल मेडिकल कलेजसम्म पुर्‍याइदिनु भएछ,” रमेश भन्छन्, “कोरोना जाँचेछ । छातीको एस्सरे गरेछ र फोक्सोमा पानी जमेको छ उपचार गर्ने भए धरौटी जम्मा गर्नुपर्छ भनेपछि पैसा दिन सकिएन । त्यत्तिकै फिर्ता हुनुभयो।”

Related Articles

Back to top button
Close