News

भोलिदेखि सरकारी कार्यालय समेत बन्द गर्ने तयारी, घरबाट निस्किनेलाई पक्राउसम्म गरिने

काठमाण्डौ । भोलिदेखि नेपालका सरकारी कार्यालय समेत बन्द गर्ने तयारी थालिएको छ । सोमबारसम्म सरकारी तथा सार्वजनिक कार्यालयहरु खुल्लै रहेका छन् । सरकारले सरकारी कर्मचारीलाई अनिवार्य रुपमा हाजिर हुन उर्दी जारी गरेपछि ती कार्यालय खुल्लै रहेका हुन् ।तर, प्रधानमन्त्रीको सम्बोधनअनुरुप अब अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालय बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान लगायत सबै कार्यालय ठप्प हुनेछन् । यसको अर्थ सरकारी कार्यालयका कर्मचारीले पनि घरमै बस्न पाउनेछन् ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिको बैठकले केही बेरपछि यस्तो निर्णय गर्न लागेको समितिका सदस्य तथा एक मन्त्रीले जानकारी दिएका छन् । सरकारी कार्यालय खुल्दा सर्वसाधारणको भीडभाड कम नभएपछि र सोमबार नै काठमाण्डौमा एक कोरोना संक्रमित फेला परेपछि अवस्था जुनसुकै बेला भयावह हुने विश्लेषणसहित सरकारी कर्मचारीलाई विदा दिन लागिएको हो । संभवत मंगलबारदेखि नै सरकारी कर्मचारीहरुले पनि घरमै बस्न पाउनेछन् । यसैबीच, मंगलबारदेखि सरकारले सुरक्षाकर्मी परिचालन गरेरै भए पनि सर्वसाधारणलाई घरबाट निस्किन दिने छैन ।

यसका लागि काठमाण्डौका विभिन्न क्षेत्रमा प्रहरीले सोमबार बिहानैदेखि माइकिङ समेत गरिरहेको छ । बारम्बार सूचित गर्दा पनि कोही कसैले अटेर गरी घरबाट निस्किए उसलाई गिरफ्तार गरेर कारबाही गर्नेसम्मको नीति सरकारले लिन लागेको छ । पोखरेल संयोजक रहेको समितिको बैठक हाल सिंहदरबारमा बसिरहेको छ । आजको बैठकले अन्य केही महत्वपूर्ण निर्णय समेत गर्नसक्ने स्रोतको दाबी छ ।

Related Articles

Back to top button
Close