काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले अब अनलाइनबाटै खाता खोल्न पाइने सुविधा लागू गरेको छ। ५६ औं वार्षिकोत्सव पारेर बैंकले यस्तो सेवा सुरु गरेको हो।
वार्षिकोत्सव कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अर्थमन्त्री विष्णु पौडेलले बैंकलाई अझ प्रविधिमैत्री सेवा दिएर आम नागरिकमा पुग्न आग्रह गरे।
राष्ट्रिय वाणिज्य बैंकप्रति आम नागरिकको भरोसा रहेको बताउँदै उनले आगामी दिनमा प्रविधिमार्फत बैंकिङ सेवा ग्राहकमैत्री हुनुपर्ने बताए।
मन्त्री पौडेलले बैंकले सञ्चालनमा ल्याएको पाँच वटा शाखा कार्यालय र पाँच वटा एक्टेन्सन काउन्टरको उद्घाटन पनि गरेका छन्।
कार्यक्रममा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको समग्र स्थितिमा सुधारको लागि विगतमा धेरै कदमहरु चालिएकाले बैंकका वित्तीय अवस्था र सेवाको गुणस्तरमा सुधार भई उत्पादकत्व बढेको भनाइ राखे।
बैंक सञ्चालक समिति अध्यक्ष धनिराम शर्माले निक्षेपकर्ता र आम नागरिकको हितमा रही सामाजिक बैंकिङ सहितको ग्राहकमैत्री सेवामा बैंकले जोड दिइरहेको बताए।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वर्तमान स्थिति र समग्र योजनाको बारेमा जानकारी दिदै बैंकले डिजिटल सेवालाई जोड दिइरहेको बताए।
२०७७ पुससम्म बैंकले २ खर्ब ४२ अर्ब रुपैंया निक्षेप संकलन गरी १ खर्ब ७५ अर्ब रुपैंया कर्जा लगानी गरेको जानकारी उनले दिए।
५६ वर्षअघि २०२२ माघ १० गते मुलुकको आर्थिक क्षेत्रको विकासमा टेवा पुर्याउने उद्देश्यका साथ स्थापना भएको यो राष्ट्रिय वाणिज्य बैंक देशका ७७ वटै जिल्लामा पुग्ने पहिलो वाणिज्य बैंक हो।
प्रतिकृया दिनुहोस्