Tuesday, March 2

पैसा नपुगेपछि धुर्मुस-सुन्तलीले बनाउन लागेको रंगशालामा कामदारलाई ज्याला दिनै हम्मे

January 28, 2021 131

भरतपुर महानगरपालिका-१५ मा यतिखेर देशकै महत्वपूर्ण मध्येको एक परियोजना अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम चलिरहेको छ।

डेढ सय बढी कामदारले रंगशालाको प्याराफिट बनाउन पिलर उठाउनेदेखि पर्खाल लगाउने काम गरिरहेका छन्। ती कामको अनुगमनमा निरन्तर खटिरहेका भेटिन्छन् धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ र उपाध्यक्ष कुञ्जना घिमिरे ‘सुन्तली’।

रंगशालाको प्रवेशद्वारमै बनेको नमूना रंगशालामा त केही महिनाअघि राष्ट्रिय टिमका अधिकांश खेलाडीको सहभागितामा राष्ट्रिय प्रतियोगिता नै सम्पन्न गरिएको थियो।

झट्ट हेर्दा बन्दै गरेको रंगशालाको मुख्य क्रिकेट मैदान र प्याराफिटले पनि आकार लिइसकेको देखिन्छ। यही गतिमा काम अघि बढ्दा अबको एक वर्षमा रंगशाला तयार भइसक्ने दाबी धुर्मुस-सुन्तलीको छ।

उनीहरूलाई बढ्दो आर्थिक समस्याले रंगशाला निर्माणमा समस्या आउने हो कि भन्ने चिन्ताले सताएको छ।

अहिलेसम्म रंगशालाको मैदान निर्माणको काम ८५ प्रतिशत सकिएको छ। बाँकी काम २०० ट्रिपर पाँगो माटोको अभावमा ६ महिनादेखि रोकिएको छ। धुर्मुसकाअनुसार पाँगो माटो उपलब्ध भए केही दिनमै मैदानको काम सकिन्छ।

आकार लिइसकेको रंगशालाको मध्यभागमा नेपालको राष्ट्रिय झन्डा फहराउन थालेको हप्तौं भइसक्यो। मैदानबाहेकको काम पनि ३० प्रतिशत सकिएको परियोजना व्यवस्थापक जनार्दन शर्मा देवकोटाले बताए।

स्ट्यान्ड ए र बी दुबै प्याराफिटको जग तयार भइ प्लिन्थ बिमको काम सम्पन्न भइसकेको छ, २८६ वटा पिल्लर उठिरहेको छ। साउन १ बाट सुरू भएको पिलर निर्माणको काम ६ महिनाको अवधिमा यो अवस्थामा पुगेको देवकोटाले बताए।(सेतो पाटी बाट)

प्रतिकृया दिनुहोस्