News

सरकार भारतसँग कुरा गर्न डरायो : सांसद शाही

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद रंगमती शाहीले शक्तिशाली सरकार देशको भूमि अतिक्रमण हुँदा पनि भारतसँग कुरा गर्न डराएको बताएकी छिन् । नीति तथा कार्यक्रममाथिको छलफलमा शाहीले जंगबहादुर पछिको शक्तिशाली प्रधानमन्त्री सीमा अतिक्रणका विषयमा भारतसँग कुरा डराउनुभएको आरोप लगाइन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘भारतको छोटे भैया’ को संज्ञा दिँदै उनले सीमा अतिक्रमणको विषयमा भारतसँग कुरा गर्न डराउनुभएको बताइन् ।

उनले भनिन् ‘जंगबहादुर पछि शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओली नै हुन तर चिनियाँहरुले पुलिस कुट्दा, भारतले भूमि लुट्दा र सीमामा जनता छुटिदा हाम्रो प्रधानमन्त्री ज्यू, भारतको छोटे भैया थाहा भएन रे । एक कल फोन गर्न भारतको बडे भैयासित डराउनु हुन्छ ।’

सांसद शाहीले कोरोना महामारीको विषयमा कुरा गर्न खोज्दा उपप्रधानमन्त्रीले सांसदहरुलाई नचिनेको बताइन् । कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिका संयोजक समेत रहेका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेललाई लक्षित गर्दै उनले भनिन्, ‘एउटा देशको रक्षामन्त्री÷उपप्रधानमन्त्रीले सांसदलाई चिन्दैन् । देशमा यस्तो अवस्था छ हामीले देशको रक्षामन्त्री खोज्दै गर्दा उहाँको स्वकिय सचिवले हामीलाई जवाफ दिनुहुन्छ । रक्षामन्त्रीलाई मोबाइलबाट त कोरोना सर्दैन होला ?’

सरकारले निर्माण गरेको कोरोना कोषमा सांसदहरुले पनि एक महिनाको तलब दिएको बताउँदै उनले मन्त्रीहरुका कारण आफुहरुले गाली खानुपरेको बताइन् । मन्त्रीहरुले आफ्नै खल्तिबाट राहत बाँडेजस्तो गरी कार्यकर्ता पाल्ने काम गरिरहेको उनले बताइन् । ‘मन्त्रीहरुले जम्बो टोली सचिवालयमा कर्मचारीहरु भर्ना गर्ने अनि सांसदले गाली खाने । डिजेल पेट्रोल मन्त्रीहरुले खाने अनी सांसदहरुले गाली खाने । फजुल खर्च मन्त्रीहरुले गर्ने गाली सांसदहरुले खाने । जनतामुखि बजेट ल्याउन नसक्ने, कार्यकर्ता पाल्ने बजेट ल्याउने अनि सांसदले गाली खाने, दशै मन्त्रिहरुले मनाउने गाली खाने सांसद ।’ उनले भनिन् ।

मान्छे मरेपछि कोरोना परीक्षण भइरहेको उल्लेख गर्दै उनले प्रधानमन्त्री ओलीलाई देशलाई आइसोलेसनमा कहिलेसम्म राख्नुहुन्छ भनेर प्रश्न समेत गरिन् ।

Related Articles

Back to top button
Close