News

आजबाट काठमाण्डौमा थप लकडाउनमा कडाइ !

कोरोना भाइरसको जोखिम हुन नदिन काठमाडौँ महानगरपालिकाको भित्री क्षेत्रमा स्थानीयले नै ‘लकडाउन’लाई कडा बनाउन थालेका छन् । कामपाको भित्री क्षेत्रका नागरिकले टोलटोलमा खटिएर कडा गरेका हुन् । कोही नागरिक अनावश्यक बाटामा हिँडेको पाइए सम्बन्धित वडाका युवाले जहाँबाट आएको हो त्यही फर्काउन थालेको छ । खाद्य सामग्रीको पसलमा पनि प्रवेश स्थानमा नै टोरी टाँगेर उपभोक्तले बाहिरैबाट पैसा दिने र सामग्री लिने व्यवस्था गरिएको छ ।

एक टोलबाट अर्को टोलसम्म कसैको पनि आवतजावत नहोस् र भाइरसको जोखिम कम गर्नका लागि स्थानीयले यस किसिमको व्यवस्था लागू गरेका हुन् । अहिले असन, इन्द्रचोक दमाईंटोल, ताम्सीपाखा, नरदेवी, ढोकाटोल, भुरुङ्खेल, क्षेत्रपाटीलगायतका स्थानबाट अयन्त्र जान पाइने छैन भने अन्यत्रबाट आउन पनि पाइँदैन । पानीको गाडी, एम्बुलेन्स, सञ्चार संस्था, खाद्य सामग्रीलगायत अत्यवश्यक सामग्री ढुवानी गर्ने यातायातका सामान बोक्ने गाडीको हकमा भने निर्वाध आवतजावत गरिरहेका छन् ।

यस स्थानमा स्थानीय युवा स्वयंसेवकका रुपमा खटी लकडाउनको पालना गराएका छन् । केही दिनअघि मात्र लकडाउनको खासै पालना भएको नदेखिने यी स्थानमा अहिले पूर्णपालन भएको छ । अहिले यी स्थानका घरमा कोही नयाँ मान्छे आए पनि सम्बन्धित वडा कार्यालयमा जानकारी हुने गरेको छ । नयाँ मान्छे नल्याउन र कोहीकहीँ नजानका लागि सबैलाई सम्बन्धित वडाले कडा गरेको छ कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले भन्नुभयो ।

उहाँले भन्नुभयो, “अवस्था जटिल बन्दै गएकाले अब नागरिक अटेर गरी सडकमा निस्के केन्द्र सरकारको सहयोगमा थप कारवाहीको प्रक्रिया अघि बढाइनेछ ।” कामपाले जोखिम हुन नदिन उपत्यका प्रवेश गर्ने र जाने क्रमलाई तत्काल रोक्न केन्द्र सरकासँग माग पनि गरेको जनाएको छ

यो पनि पढ्नुहोस : लकडाउनको सदुपयोगः खरको छानामुक्त वडा बनाउन सफल

म्याग्दीको बेनी नगरपालिकाले वडा नं. ३ भकिम्लीलाई ‘खरको छानामुक्त वडा’ बनाउन सफल भएको छ ।

रकम अभावमा जस्तापाता खरीद गर्न नसकेर खर तथा परालले छाना छाउँदै आएका नागरिकको घर नगरपालिकाले जस्ता पाताले छाइदिएको हो । बन्दाबन्दीको सदुपयोग गर्दै बेनी नगरपालिका–३ भकिम्लीका जनप्रतिनिधिले खरको छानामुक्त वडा बनाउन सफल भएका हुन् ।

लकडाउनको ५४ औँ दिन आइतबारसम्म भकिम्लीका ६१ वटा घरका छाना फेरिएका छन् । खरले छाएका छाना भत्काएर जस्तापाताले छाइएको छ । जसले गर्दा भकिम्लीका घरमा जस्ता पाताका छाना टल्किएका छन् ।

बेनी नगरपालिकाको शतप्रतिशत अनुदानमा भकिम्लीका ६१ घरमा खरको छाना हटाएर जस्तापाताले छाइएको बेनी नगरपालिका– ३ का वडाध्यक्ष पदम पुनले जानकारी दिनुभयो । अब भकिम्ली खरका छानामुक्त वडा बनेको उहाँले बताउनुभयो ।

खरको छानामुक्त वडा बनाउने अभियान स्वरुप नगरपालिकाले बजेट विनियोजन गरेको उहाँले बताउनुभयो । वडाभित्रका गरिब, दलित र निम्न आय भएका व्यक्तिका छाना फेरिएको छ । त्यसैगरी २१ जना एकल महिलाका पनि छाना फेरिएको वडाध्यक्ष पुनले बताउनुभयो । नगरपालिकाको रु २० लाख २४ हजार अनुदानमा जस्तापाता खरिद गरेर छाना परिवर्तन गरिएको बेनी नगरपालिकाका नगरप्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो ।

खरले छाएको छानाबाट वर्षायाममा पानी चुहिएर समस्या भोग्दै आएका नगरवासीका घरको छाना फेर्न चालू आर्थिक वर्ष २०७६÷७७ मा बेनी नगरपालिकाले रु ७० लाख विनियोजन गरेको छ । छाना फेर्नका लागि प्रतिव्यक्ति न्यूनतम रु २० हजारदेखि रु ५५ हजारसम्म अनुदान दिइएको छ ।

बेनी नगरपालिकाका सबै वडामा खरको छाना विस्थापित गर्ने कार्यक्रम सञ्चालन गरिएको नगर कार्यपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले बताउनुभयो । उहाँका अनुसार बेनी बजारमा खरका छाना रहेका घर नभएकाले बजारबाहेक नगरपालिकाका अन्य सबै वडामा खरका छानामुक्त घर अभियान सञ्चालन गरिएको हो ।

यसैबीच आइतबार नै बेनी नगरपालिका– ३ मा भएका विकास आयोजनाको अनुगमन गरिएको छ । भकिम्लीमा खरका छाना विस्थापित गर्नेलगायतका विकास आयोजनाको नगरप्रमुख हरिकुमार श्रेष्ठ, उपप्रमुख सञ्जु बरुवाल, प्रशासकीय अधिकृत छविलाल सुवेदी, कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा, वडाध्यक्ष पदम पुन, नगर कार्यपालिकाका प्रवक्ता रामकृष्ण बराइलीलगायत प्राविधिकको टोलीले अनुगमन गर्नुभएको थियो । भकिम्लीमा सञ्चालित विकास आयोजनाको अवस्था राम्रो रहेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।

“कुनै कारणबस खरको छानो भएको एउटा घरमा आगलागी भए वडानै जलेर खरानी हुने त्रास रहेको थियो”, नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “पैसा अभावमा खरको छानो चुहिएर बर्खा कष्टका साथ बिताउँदै आएका गरिब र विपन्न परिवारलाई यसले ठूलो राहत दिएको छ ।”

‘सबैलाई समान ढङ्गबाट जस्तापाता वितरण गरेका छौं”, वडाध्यक्ष पुनले भन्नुभयो, “सडक र पुल निर्माण मात्रै विकास होइन, नागरिकलाई सुरक्षित रूपमा बसाउन पाउनु पनि स्थानीय सरकारको दायित्व हो ।” विपन्न समुदायको आवासलाई सुरक्षित बनाएर नगरको मुहार फेर्ने अभियानमा नगरपालिका लागेको प्रवक्ता बराइलीले बताउनुभयो ।

Related Articles

Back to top button
Close