News

कोरोना कहर : लकडाउनको समयमा गाउँमा के गर्ने ? (जनस्वास्थ्य विज्ञ डा. पाण्डेका केही सुझाव)

विश्वमा कोरोना संक्रमण भयावह स्थितिमा छ । अपवादलाई छोडेर गाउँभन्दा सहर प्रभावित भएका छन् ।

ठूलो जनसंख्या, भीडभाड, सानादेखि ठूला उद्योग, रोजगारीको अवसर, गाउँमा भन्दा धेरै अस्पताल र स्कुल तथा भौतिक सुबिधाको कारण शहर कोलाहलमय छ । प्रदुषण, खानपिनको अशुद्धता, तनाब तथा कृत्रिम जीवनशैलीको कारण शहरमा बस्नेहरुको रोग प्रतिरोधात्मक क्षमता कम छ ।

बाक्लो र साँगुरो बसेको कारण सरुवा रोगको प्रकोप शहरमा बढी हुनु स्वाभाविक हो । अहिले शहरलाई हेरेर लकडाउनको मोडालिटी तयार गरिएको छ । मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, घरभित्र बस्ने जस्ता निर्देशिका शहरलाई हेरेर बनाइएको हो । तसर्थ गाउँमा लकडाउनमा बेला के गर्ने भन्ने विषयमा जनस्वास्थ्य विज्ञ डा रवीन्द्र पाण्डेले केही सुझाव दिएका छन् । जुन निम्न छन्-

– गाउँमा घर हुन्छ, एक दुइवटा कोठामा कोचिएर बस्नु पर्दैन । आफ्नो आँगन हुन्छ, खेतबारी हुन्छ । खेती हुन्छ, पशुपंक्षी पालिएका हुन्छन । पानी स्वच्छ हुन्छ, हावा स्वच्छ हुन्छ । घरहरु प्राय गुजुप्प नभएर दुरीमा हुन्छन् । तसर्थ यो कोरोना संक्रमणको समयमा घरभित्र बस्नु जरुरी छैन । आँगन, बारी, खेतमा जान सकिन्छ ।

– कोरोना भाइरस गाईभैंसी, बाख्राबोका तथा कुखुराबाट सर्दैन । तसर्थ पशुपंक्षी लालन पालन गर्न हुन्छ । दुध, दही, मोही, घ्यु, अण्डा, मासु खान हुन्छ ।

– आफ्नो खेत तथा बारीमा सागपात, फलफूल तथा अन्नको खेतीपाती गर्न हुन्छ । एक व्यक्तिबाट अर्को व्यक्तिसंग ६ फिटको दुरी राखेर संगै काम गर्न मिल्छ ।

– आफ्नो घर तथा बारीमा हुँदा मास्क लगाउनु पर्दैन । गाउँमा बग्ने हावा अमृत समान हुन्छ । प्रचुर अक्सिजनले भरपुर हुन्छ ।

– हातलाई बिनाकाम नाक, मुख तथा आँखामा लग्नु हुँदैन । आफ्नो सरसफाईमा बिशेष ध्यान दिनुपर्छ । साबुनपानीले पटकपटक हात धुनुपर्छ । स्यानिटाइजरको आबश्यक छैन ।

– गाउँमा पानी स्वच्छ हुन्छ । स्वच्छ भएपनि पानी भकभक उमालेर तथा सेलाएर खानु उपयुक्त हुन्छ ।

– कोहि बिरामी भएमा, दुख परेमा, मृत्यु भएमा एकअर्कालाई सहयोग गर्न हुन्छ, ६ फिटको व्यक्तिगत दुरी सहित ।

– कोरोना भाइरस हावामा उडेर आउंदैन । गाउँमा यो रोग मान्छेबाट आउने हो । नेपालमा कोरोना संक्रमण त्यति धेरै छैन । यो रोगले कसैको पनि मृत्यु भएको छैन । तसर्थ गाउँका मान्छेले एकअर्कालाई शंका गर्नुपर्दैन । कोहि व्यक्ति भारत लगायत अन्य देशबाट आएको छ भने गाउँमा थाहा हुन्छ । बाहिरबाट आएको मान्छेलाई अनिबार्य रुपमा ३ हप्ता क्वारेन्टाइनमा राख्नुपर्छ । उसलाई घृणा गर्नुहुँदैन । क्वारेन्टाइनमा रहंदा उसलाई तथा उसको परिवारलाई सहयोग र सान्त्वना दिनुपर्छ । क्वारेन्टाइनबाट भाग्न दिनुहुँदैन । ३ हप्तामा उसलाई रोग पुरै निको भएको हुन्छ । ज्वरो आइरहने, सुख्खा खोकी लागिरहने तथा सास फेर्न गाह्रो भए स्वास्थ्यकर्मीलाई बोलाएर जांच तथा उपचारको ब्यबस्था मिलाउनु पर्छ । निको भएपछि त्यो व्यक्ति हामीजस्तै स्वस्थ हुन्छ । अरुलाई रोग सर्दैन ।

– मौसमी रुघाखोकी पहिले पनि लाग्थ्यो, अहिले पनि लाग्छ । त्यसैले कोरोना संक्रमण हो कि भनेर डर मान्नु हुँदैन । आराम गर्ने, तातोपानी खाइरहने, अदुवा / बेसार / ज्वानो / कागतीपानी पकाएर खाइरहने, लसुन र प्याजको झोल बनाएर पिउने, पोषिलो खाना खाने, ज्वरो आयो / टाउको दुख्यो भने सिटामोल खाने, नुन पानीले कुल्ला गर्ने गर्दा मौसमी रुघाखोकी ठिक हुन्छ । ठिक नभए स्वास्थ्य केन्द्रमा जानुपर्दछ ।

– यस्तो महामारीको बेला धेरै भ्रम र हल्ला चल्छन । त्यस्ता हल्ला पत्याउनु हुँदैन । रेडियो सुन्ने, टेलिभिजन भएको ठाउँमा टेलिभिजन हेर्ने, स्वास्थ्यकर्मीको कुरा सुन्ने बानी बिकास गर्नुपर्छ । हल्ला र भ्रमले चिन्ता, डर र असुरक्षा अनुभूति हुन्छ ।

– गाउँमा पनि किनेर खाने चलन बढेको छ । अब हामी बदलिनु जरुरि छ । महामारीको असरले खानेकुरा नआउन सक्छ, कम आउन सक्छ । तसर्थ आफ्नो खेतबारी बाँझो राख्नु हुँदैन । तरकारी, फलफुल, दुध, अन्न, नगदे बाली आदि लगाएर आफ्नो परिवारलाई पुग्ने खेती सबै जनाले गर्नुपर्छ । धेरै खेतबारी भएका व्यक्तिले उत्पादन गरेर बिक्रि गर्ने, त्यहि उत्पादन बिक्रि गरेर कमाउने लक्ष्य राख्नुपर्छ । जसको खेतबारी छैन, बाँझो रहेको अरुको खेतबारीमा उत्पादन गर्नुपर्छ । हामीले मेहेनत गर्दा व्यायाम हुन्छ, पसिना आउँछ, आफैले फलाएको खान पाइन्छ, ताजा दुध खान पाइन्छ । आफ्नो उत्पादनमा विषादीको डर हुँदैन ।

– कसैले सानोतिनो राहत ल्यायो भने सकभर लिनु हुँदैन । उपाय नभएकालाई दिनुपर्छ । अरुले दिन्छ कि भन्ने आशा गर्नु हुँदैन । भूकम्प आएपछि काठमान्डौ वरपरका गाउँमा खेती गर्न छोडेर मान्छे बाटोमा राहत कुर्न बसे । चाउचाउ, बिस्कुट र एउटा त्रिपालको लागि लाखौँको उत्पादन छोडे । त्यसैले आफ्नो कर्ममाथि विश्वास गर्नुपर्छ ।

– हामीलाई कोरोना संक्रमण भएपनि डर मान्नुपर्दैन । कोरोना संक्रमण भएका १०० जनामध्ये ८५ जनालाई सामान्य लक्षण देखिएर रोग आफै निको हुन्छ । बाँकी १५ % मध्ये आधिलाई उपचार गरे निको हुन्छ । बाँकी ७-८ % लाई अस्पताल भर्ना गर्नुपर्छ । १०० जनामा मृत्यु हुने २- ३ जना मात्र हो । यो तथ्य बुझ्नु बुझाउनु जरुरि छ । सहि सूचनाले तनाब हुँदैन ।

– सहरका मान्छेभन्दा गाउका मान्छे बलिया तथा निरोगी हुन्छन् । काम गर्ने, उकालो ओरालो हिंड्ने, स्वच्छ हावापानी हुने, आफ्नै उत्पादन खाने, खानामा मिसावट नहुने तथा सहरमा झैं अनेक रोगको सामना गर्नु नपर्ने भएकोले कोरोना भाइरसले गाउँमा बसेका मान्छेलाई एकदम थोरै असर गर्छ । तसर्थ गाउँ सबैभन्दा सुरक्षित हुन्छ ।

Related Articles

Back to top button
Close