Thursday, January 21

खानेपानीका धारामा बरफ जमेर पानी आउन छाड्याे, ग्यास सिलिण्डरसमेत जम्न थाल्याे

December 30, 2020 78

कर्णाली, १४ पुष । साविकको कर्णालीका नागरिकलाई कठ्याङ्ग्रिने जाडोले अत्यधिक सास्ती दिन थालेको छ । मङ्सिरयता चिसो बढ्दै गएपछि विशेषगरी जुम्ला, मुगु, हुम्ला र डोल्पाका नागरिकको जनजीवन कष्टकर बन्दै गएको हो ।

कालिकोट, जाजरकोट र रुकुमपश्चिमका उत्तरी भेगमा बसोबास गर्दै आएका नागरिकसमेत चिसोले प्रभावित बनेका छन् । जुम्लाको न्यूनतम तापक्रम यतिबेला माइनस ८.५ डिग्री सेल्सियसमा झरेको छ ।

जाडो बढे पनि साविकको कर्णालीका कुनै जिल्लामा वर्षा तथा हिमपात नभएको हावापानी फिल्ड कार्यालय जुम्लाका प्रमुख आशामपुरा कार्कीले जानकारी दिनुभयो ।

“चिसो बढ्ने क्रम जारी छ”, प्रमुख कार्कीले भन्नुभयो, “हिमपात भने भएको छैन । यद्यपि, यहाँका नागरिकको जनजीवन निकै कष्टकर बन्दै गएको छ ।” कठ्याङ्ग्रिने जाडो नघट्दासम्म हिमाली बासिन्दाको खासगरी बिहान र बेलुकाको दैनिकी अझ बढी कठिन हुने कार्यालय प्रमुख कार्कीले जनाउनुभयो ।

जाडो बढ्दै जाँदा खानेपानीका धारामा बरफ जमेर पानी आउन छाडेको छ । मोटरसाइकल गाडीमा पेट्रोल डिजेल जम्दा सञ्चालमा ल्याउन सकस भएको छ । यसले गर्दा यातायात व्यवसायीलाई पनि सेवा प्रवाह गर्न गाह्रो भएको यातायात व्यवसायी ज्वारीलाल भट्टराईले बताउनुभयो । शौचालयका धारा बन्द भएपछि नागरिकलाई शौच गर्नसमेत कठिनाइ भएको छ ।

चिसोले पानीका पाइप फुट्न थालेका छन् । मुख्यतयाः मानव जीवनका लागि दैनिकरूपमा नभई नहुने पिउनेपानी आउन छाडेपछि यहाँका नागरिकले बढी सास्ती खेप्नुपरेको खलङ्गा खानेपानी उपभोक्ता समितिका अध्यक्ष पन्नाबहादुर रोकायले जानकारी दिनुभयो ।

“हाम्रो काम उपभोक्ताको धारामा पानी पठाइदिने हो । पाइप भाँचिए टुटेफुटेको अवस्थामा मर्मत गरी पानी पठाएकै छौँ”, अध्यक्ष रोकायले भन्नुभयो, “बरफ बनेर बन्द भई धारामा पानी नआउनु प्राकृतिक अवस्था हो । यसमा हामीले के नै गर्न सक्छौँ र ?” करिब दुई हजार उपभोक्तामार्फत २२ हजारभन्दा बढी नागरिकलाई खानेपानी सेवा दिइरहेको उहाँको भनाइ थियो ।

प्रतिकृया दिनुहोस्