News

देशभर ३ दिनसम्म वदलीसँगै वर्षाको सम्भावना

काठमाडौँ । आगामी तीन दिनसम्म देशभर बदलीसँगै वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायमै रहेको र शुक्रबारबाट नेपालमा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा प्रवेश गरेकाले बदलीसँगै वर्षाको सम्भावना रहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । आइतबारसम्म बिहान र दिउँसो केही समय मौसम खुले पनि अपराह्न तथा साँझापख निरन्तर वर्षा उहाँको भनाइ छ ।

विगत केही दिनयतादेखि दिउँसोको समयमा घाम नलागेकाले अधिकतम तापक्रम घटेका कारण चिसो महसुस भएको महाशाखाले जनाएको छ । मौसम पूर्णरुपमा सुधार हुन एक साता लाग्ने बताइएको छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रही मध्य र पूर्वी भू–भागका केही स्थान र पश्चिमी भू–भागका एक दुई स्थानमा चट्याङ्, मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ । शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही देशका पश्चिमी भू-भागका एक दुई स्थान मध्य र पूर्वी भू–भागका केही स्थानमा अपराह्नपछि मेघ गर्जन, चट्याङ, हावाहुरी असिनासहित वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार शुक्रबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव ७ डिग्री र अधिकतम तापक्रम २३ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।

Related Articles

Back to top button
Close