News

बर्दियासँग सीमा जोडिएको बहराइचमा बर्दियाका एकजनामा कोरोना पुष्टि, सीमा क्षेत्रमा कडाइ

बर्दिया : भारतको बहराइचमा रहेका बर्दियाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ। बर्दियासँग सीमा जोडिएको बहराइचमा एक नेपालीसहित आठजनामा कोरोना संक्रमण पुष्टि भएको हो। कोरोना संक्रमित व्यक्ति ठाकुरबाबा नगरपालिका–२ सुजनपुरका रहेको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए। रुपैडिहा बहराइचको सेल्टर क्वारेन्टाइनमा रहेका तीनजना नेपालीको नमुना परीक्षण गर्दा एकजनामा कोरोना पुष्टि भएको हो। बहराइचमा कोरोना संक्रमित फेला परेपछि सीमा क्षेत्रमा उच्च सर्तक रहन सुरक्षाकर्मीलाई निर्देशन दिइएको प्रजिअ लामिछानेले बताए।

कोरोना संक्रमित आठजनामध्ये दुई भारतीय बर्दियाको राजापुर, मधुवन नगरपालिका आसपासमा काम गर्ने रहेको खुलासा भएको छ। उनीहरु मधुवन र राजापुर नगरपालिका कोठियाघाटबाट हिँडेर भारतको बिछिया हुँदै बहराइच पुगेपछि क्वारेन्टाइनमा राखिएको बहराइचबाट आफ्ना आफन्तले जानकारी गराएको ठाकुरबाबा स्वास्थ्य शाखाका डा. कुलदीप यादवले बताए। बहराइचमा कोरोना पुष्टि भएका व्यक्तिसँगै बस्दै आएका उनका भाइ एक महिनाअघि सुजनपुर आएको पाइएको छ। उनको शुक्रबार आरडिटी र स्वाब परीक्षण गरिने ठाकुरबाबा नगरपालिकाका प्रशासकीय अधिकृत रामहरि रिजालले बताए।

संक्रमित युवकको घरसँगै सुजनपुर र खुलपुर पूरै गाउँ लक गरिएको छ। अर्को सूचना नआएसम्मका लागि शुक्रबारदेखि ठाकुरबाबा नगरभित्र मेडिकलबाहेक अन्य सबै पसलहरु आकस्मिक निर्णय गरेर बन्द गरिएको नगरपालिकाले नगरप्रमुख घननारायण श्रेष्ठले जानकारी दिए। यस्तै, बर्दियाका सबै स्थानीयत तहमा सतर्कता अपनाएर लकडाउनको पालना गराउन र कोरोना परीक्षणमा पहल गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।

Related Articles

Back to top button
Close