News

धोकेवाज श्रीमान, ‘तिमी भन्दा धेरै खुसी छु म आज’….

सिन्धुपाल्चोक सदरमुकाम चौताराकी ४१ वर्षिया लक्ष्मी न्यौपाने परिवारकी जेठी छोरी हुन् ।आफूमुनिका एक भाइ र तीन बहिनीको जिम्मेवार बोकेकी लक्ष्मीले कक्षा ४ सम्मको औपचारिक शिक्षा लिएकी उनले थप अध्ययन गर्ने मौका पाइनन्।घाँस दाउरा मेलापात गर्दागर्दै २० वर्षकै उमेरमा उनको बिहे भयो। २०५५ सालमा गाँउकै लक्ष्मण नेपालसँग बिहे गरेपछि उनको दिनचर्या दाउरा घाँस र मेलापातमै बित्न थाल्यो।

लक्ष्मण पनि पढेलेखेका थिएनन्। उनी पनि गाँउमै घासपात गर्थे।बिहे गरेको अर्को वर्षबाटै उनले वर्षेनी सन्तान जन्माउन सुरू गरिन्। छोराको आस गर्दा गर्दै ३ छोरी जन्मिए।‘छोरी मात्र पाईस्’ भनेर श्रीमान र परिवारले उनलाई सताउन थाले। ‘पेटमा बस्ने कुरा मैले यही पाउँछु भनेर कसरी हुन्छ र,’ लक्ष्मीले भनिन्।बिचरा लक्ष्मीलाई ‘छोरी मात्र पाउनु महिलाको कारणले होइन’ भन्ने सम्मको जानकारी रहेनछ। टोल छिमेक परिवार सबैले उनलाई देख्दा मुखामुख गर्थे, मानौं छोरी मात्र पाएर उनले समाजिक अपराध गरेकी छन्।

दिनहरू बित्दै थिए, एक दिन उनका श्रीमानले आफ्नै माइली बहिनी (साली) लिएर फरार भएपछि उनको मुटुमा छुरा रोपियो। लक्ष्मीलाई आफू उभिएको धर्तिनै भासिए झैं लाग्यो। तर पनि उनले आफूलाई सम्हालिन्।काखका दुधे छोरीहरूको लागि भए पनि उनले आफूलाई सम्हालेर काममा जानैपर्थ्यो। मेलापात, गाई बाख्रा पालेर उनले छोरी हुर्काउँदै गईन्। काखमा छोरी च्यापेर रातभरि रून्थिन्।

‘कहिलेकाँही छोरीहरूसहित आत्महत्या गरौं जस्तो लाग्थ्यो। तर छोरीमाथि पाप गर्नुहुन्न भन्ने सोचेर सबै सहेरै बसेँ’, उनले भनिन्।२०६३ सालमा लक्ष्मीका श्रीमान सशस्त्र प्रहरीका भर्ति भए। काठमाडौं मै डेरा गरेर कान्छीसँग बसेका श्रीमान कहिलेकाही घर आउँथे। ‘म अनपढ, लोग्ने मेरा भगवान हुन् भनेर बसेकि मान्छे उनी गाँउ आउँदा राति मसँग सम्बन्ध राख्थे, मैले नाई भन्न पनि सक्थिनथेँ’, उनले विगत सम्झिइन्।यस्तैमा २०६४ सालमा फेरि अर्की छोरी पाइन्। घर चलाउन गाह्रो हुँदै गएपछि उनले माइली छोरीलाई काठमाडौंमा काम गर्न राखिन्।

अहिलेकी सांसद विद्या भट्टराईको घरमा काम गर्न बसेकी छोरीले त्यहीबाट पढ्न थालिन्। एउटी छोरीलाई अरूले नै पढाईदिए पनि बाँकी ३ जनालाई कसरी पाल्ने भन्ने चिन्ताले उनलाई सतउन थाल्यो।यत्तिकैमा २०७२ सालको भूकम्पले उनको जिन्दगीमा अर्को ठूलो धक्का लगायो। भूकम्पले बस्ने घर, खाने अन्न बाली र गोठमा भएका चौपाया सबै सकिए।‘सबै सोहोरेर लगेको भूकम्पले हामीलाई पनि लगेको भए कति आनन्द हुन्थ्यो होला भन्दै महिनौंसम्म रोईरहेँ’, विगत सम्झदै धोतीको सप्कोले आँसु पुछ्दै लक्ष्मीले भनिन्, ‘न खानलाई चामलको दाना थियो।

न त ओत लाग्ने छानो नै।’काठमाडौंमा रहेकी माईली छोरीको आग्रहमा काम खोज्दै लक्ष्मी तीन छोरी च्यापेर काठमाडौं आइन्।माईली छोरी बसेकै घरमा बाँकी तीन छोरी राखेर लक्ष्मी अर्काको घरमा कपडा धुने र भाडा माझ्ने काम गर्न थालिन्।‘कुर्न मात्र गाह्रो रै’छ हाम्रा पनि दिन आउने रै’छ’, लक्ष्मीले पछिल्लो अवस्थाबारे भनिन्।

उनले अरूका कपडा धोएरै महिनामा १८ हजारसम्म कमाउन थालिन्।‘यतिबेला आफ्नै दिदीमाथि सौता हुन आएकी मेरी बहिनी र श्रीमानलाई ‘खुशी छु म आज, तिमिभन्दा धेरै…’ भन्ने गीत सुनाउन मन लाछ। मेरो भेट हुन्न तपाईँको समचारबाट यो खबर पुर्‍याईदिनुस् है’, छुट्टीने बेलामा लक्ष्मीले बढो पेचिलो तरिकाले भनिन्।

यो सामाग्रीलाई हामीले सामाजिक सञ्जालबाट साभार गरिएको हो |

Related Articles

Back to top button
Close