News

काठमाडौंका अस्पतालले भर्ना नलिँदा कोरोना संक्रमित सात घन्टा एम्बुलेन्समै

काठमाडौँ । सरकारले कोभिड क्लिनिक भनेर तोकेका अस्पताल मात्रै काठमाडौं उपत्यकामा ६ वटा छन् । तर, शनिबार एक संक्रमितले अस्पतालमा भर्ना नपाएर सात घन्टा एम्बुलेन्समै बिताउनुपर्‍यो ।

दिउँसो ३ बजे एम्बुलेन्समा पाटन अस्पताल पुगेका ती संक्रमितलाई राति १० बजे बल्ल दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज केएमसीमा भर्ना गरिएको थियो । सर्लाही घर भएका ती संक्रमित एक साताअघि भारतको महाराष्ट्रबाट फर्किएका थिए । नेपाल प्रवेश गरेपछि टेम्पोमा घर जानेवेला सप्तरीमा उनी दुर्घटनामा परे र खुट्टा भाँचियो ।

उपचारका लागि काठमाडौं आएका उनी कुलेश्वरस्थित राजधानी अस्पतालमा भर्ना भएका थिए । शल्यक्रिया गर्नुअघि अस्पतालले गरेको स्वास्थ्य जाँचमा उनमा कोरोना पोजेटिभ देखियो । त्यसपछि राजधानी अस्पतालले उनको शल्यक्रिया नगरी शनिबार दिउँसो पाटन अस्पताल रेफर गरेको थियो ।

एम्बुलेन्समा पाटन पुगेका उनीसँगै दुईजना कुरुवा पनि थिए । अस्पताल प्रशासनले बेड खाली नभएको भन्दै बाहिरै कुर्न आग्रह गरेपछि बिरामी सात घन्टा अस्पतालको पार्किङमा एम्बुलेन्सभित्र बस्न बाध्य भए । राति १० बजे मात्रै पाटन अस्पतालले बिरामीलाई केएमसी अस्पतालमा रेफर गर्‍यो ।

सरकारले काठमाडौं उपत्यकामा कोरोनाको उपचारका लागि पाटन अस्पताल, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान केन्द्र, सशस्त्र प्रहरी अस्पताल, काठमाडौं मेडिकल कलेज र त्रिवि शिक्षण अस्पताललाई तोकेको छ । यी अस्पतालमा एक सय ८७ आइसोलेसन बेड छन् ।

राजधानी अस्पतालले समन्वय नगरी संक्रमितलाई पठाउँदा घन्टौँ एम्बुलेन्समै बस्नुपरेको स्पष्टीकरण पाटन अस्पतालले दिएको छ । ‘उताबाट समन्वय नै नगरी पठायो । हामीकहाँ आइसोलेसन बेड ६ वटा मात्रै छन्, ती सबै भरिएका कारण संक्रमितलाई तत्काल भर्ना गर्न सकिएन,’ अस्पतालका निर्देशक डा।विष्णु शर्माले भने ।

संक्रमितसँगै दुई कुरुवा पनि सात घन्टासम्म एम्बुलेन्समै बस्न बाध्य भएका छन् । अस्पतालको लापरबाहीले उनीहरू पनि जोखिममा परेको एम्बुलेन्सचालकले बताए । यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित भएको छ ।

Related Articles

Back to top button
Close