Monday, January 18

नेवार समुदायमा योमरी बनाउने चलनसँग जोडिएको यस्ताे कथा !

December 30, 2020 54

काठमाडौं । योमरी नेवारी समुदायको एउटा मुख्य खाने परिकारमध्ये एक हो । पछिल्लो समय योमरी नेवारी समुदायमा मात्र सीमित छैन । सबै जात र समुदायका मानिसले अहिले योमरी उत्तिकै मन पराउने गर्दछन् ।

योमरी स्वादिष्ट र स्वस्थ्यवर्धक परिकार हो । योमरी नयाँ चामलको पिठोबाट बनाइन्छ । योमरी बनाउँदा नयाँ चामलको पिठो, कालो तिल, खुवा, चाकु र घ्यू मिसाएर बनाइन्छ । नयाँ धानको पिठोमा घ्यू मुछेर पानीको वाफले योमरी पकाइन्छ ।

योमरी र नेवारी(ज्यापु) समुदायको अन्योन्यास्रित सम्बन्ध रहेको पाइन्छ । विशेष गरी योमरी कृषि र कृषकसँग सम्बन्धित रहेका छन् । योमरी पुन्हिलाई धनधान्य पूर्णिमाको रुपमा मनाइन्छ । यो संस्कृति नेपाल संम्वत ५६१ देखि सुरु भएको पाइन्छ ।

योमरीको विषयमा हिन्दु धर्मग्रन्थको विष्णु पुराण र बौद्ध धर्मग्रन्थको रत्न अवधानमा उल्लेख गरिएको संस्कृतिविद् छत्र बहादुर कायस्थले बताए । योमरी पुन्हिको दिन योमरी बनाउने र खानेमात्र हैन, यो दिन आफूसँग भएको कुराहरु अरुलाई दान दिने पनि गरिन्छ । यसरी गरिब तथा असहायलाई दान गर्दा धनधान्य हुने विश्वास नेवारी समुदायमा रहेको छ ।

हिन्दु र बौद्ध धर्मग्रन्थमा उल्लेख भएको योमरीबारे काठमाडौं उपत्यकाको नेवार समुदाय र पनौतीमा रहेको नेवार समुदायमा भने अलिक फरक बुझाई रहेको कायस्थले बताए । पनौतीका किसानले धनेश्वार महादेवलाई मान्दछन्, भने ललितपुरमा रहेका किसानले लवभद्रलाई मान्ने उनले बताए ।

बौद्ध धर्मको रत्न अवधानमा उल्लेख भएअनुसार पनौतीमा रहेका सुचन्द्र वैद्यलाई कुवेरले एउटा परीक्षा लिए । सुचन्द्र यो बेलाको धेरै गरिब तर दयालु र भगवानप्रति धेरै आस्था राख्ने मानिस थिए ।

कुवेर सुचन्द्रको श्रीमती माइत गएको बेलामा माग्नेको रुपमा उनको घरमा रातको समयमा गए । यो समयमा पनि सुचन्द्रले उनलाई बढो सत्कारपूर्ण तरिकाले आफ्नो घरमा राखेर खानेकुरा खुवाएर सुताए । त्यसपछि कुवेरले आफ्नो वास्तविक रुपमा आएर आफूले सुचन्द्रको परीक्षा लिएको बताए ।

धेरै गरिब सुचन्द्रलाई कुवेरले नयाँबाली (धान) भित्राएपछि त्यसको योमरी बनाएर नयाँ धान राखेको भकारीमा योमरी राखेर पुजा गर्न र त्यसरी बनाएको योमरी अरुलाई पनि बाँढ्न सल्लाह दिए ।

त्यही सल्लाह अनुरुप सुचन्द्रले पुजा गरेपछि उनी कुवेरले भनेजस्तै धनी बन्दै गए । र, त्यो योमरी खाने मानिसहरुमा पनि सुख, शान्ति र प्रगति हुँदै गयो । त्यहीअनुसार अहिले पनौतीका नेवार समुदायले धनेश्वर महादेवलाई धान्यपूर्णिमाको दिन पुजा गर्ने कायस्थले बताए ।

लिच्छवी कालमा काठमाडौं उपत्यकामा धानखेती हुँदैन थियो । त्यही बेला वलभन्द्रले उपत्यकामा कुलो निर्माण गरी धानखेती सुरु गरे । उपत्यकामा धानखेतीको सुरुवात गरेको भएर अहिले ललितपुरका नेवार समुदायले वलभन्द्रलाई पुजा गर्ने कायस्थ बताउँछन् ।

त्यसो त नेपालमा हिन्दु धर्मभित्रका संस्कृति र चाडपर्व तथा बौद्ध धर्मभित्र रहेका चाडपर्व कुनै न कुनै रुपमा किसान र कृषिसँग जोडिएका छन् । नेपालमा मनाइने यस्ता पर्वहरु सांस्कृतिक मात्र नभएर प्राकृतिक रुपमा पनि यसको अनुकुलता पाइन्छ ।

योमरी पुन्हि चिसो समय (जाडो) मौसममा पर्ने गर्दछ । यही कारण योमरीमा प्रयोग हुने कालो तिल, चाकु, घ्यू, खुवा जिब्रोको स्वादको लागि मात्र हैन, शरीरलाई न्यायो बनाउने खाद्यान्न पनि हुन् । शरीरलाई प्राकृतिक तापक्रमसँग तयार बनाएर राख्नका लागि यस्तो खानेकुरा हाम्रो लागि अत्यावश्यक हुन्छ ।

प्रतिकृया दिनुहोस्