News

भारी बोक्दै जीवन गुजारे, सडकमै अन्तिम सास फेरे

आइतबार कीर्तिपुरको सडकमा मृत भेटिएका सूर्यबहादुर तामाङ। तस्बिर सौजन्य: अमन महर्जन (वडाध्यक्ष, कीर्तिपुर-१०) )

कीर्तिपुर-१० स्थित मंगल बहुमुखी क्याम्पसअगाडिको सडक पेटी। आइतबार दिउँसो उक्त सडक पेटीमा एक जना वृद्ध बेवारिसे पल्टिएका थिए। झुत्रा लुगा लगाएका उनी जेठको उखरमाउलो गर्मीमा कतिबेरदेखि त्यसरी पल्टिएका हुन् कसैले थाहा पाएनन्। उनको सोधीखोजी गर्ने मानिस पनि कोही थिएन।

पछि स्थानीय युवाहरूले उनलाई देखे। नजिकै गए। त्यतिन्जेल ती वृद्धको शरीर चिसो भइसकेको थियो। ती युवाहरूले प्रहरीलाई खबर गरे।

प्रहरीले मुचुल्का उठायो। सडकमै मृत्यु वरण गरेका ती वृद्ध धादिङका सूर्यबहादुर तामाङ भएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डिएसपी छेदीलालत कमातीले जानकारी दिए। उनी कति वर्षका थिए भन्ने खुलेको छैन।

तामाङले कोठा लिएका थिएनन्, पाटीमै सुतेर रात काट्थे। सडकमा मृत भेटिएका तामाङले हातमा भारी बोक्ने नाम्लो समातेका थिए।

स्थानीय वीरेन्द्र शाक्यका अनुसार सूर्यबहादुर वर्षौंदेखि कीर्तिपुरमा भरियाको काम गर्थे। दुई महिनाअघि लकडाउन भएपछि उनले काम पाएनन्।

‘शुक्रबारसम्म उनी विभिन्न संस्थाहरूले बाँडेको खाना खान्थे। आज बिहानसम्म पनि उनलाई ठिकै थियो,’ शाक्यले भने,‘दिउँसो अचानक के भयो उनको त मृत्यु भएछ। सायद दिन पुग्यो होला।’

प्रहरीका अनुसार सूर्यबहादुरका कोही आफन्त छैनन्। प्रहरी नै उनको पोष्टमर्टम गर्न उनको शव महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुर्‍याएको छ।

Related Articles

Back to top button
Close