News

ओहो ! डायलासिस गराउन ठेलामा हालेर अस्पताल

११ जेठ, काठमाडौं । आइतबार दिउँसो काठमाडौं उपत्यकाका टन्टलापुर घाम लागेको थियो । लकडाउनका कारण पास भएका तथा अत्यावश्यक सवारी साधान मात्र गुडिरहेका थिए । सडकमा आवत जावत पनि शून्यजस्तै थियो ।

दरबार स्कुल, रानीपोखरी अगाडि अनौठो दृश्य देखियो । हरियो टिर्सट, हाफ पाइन्ट र चप्पल र मुखमा कपडाको मास्क लगाएका अधवैशे पुरुष असिन पसिन भएर ठेला धकेलिरहेका थिए । ठेलामा कुनै वस्तु नभएर एक महिला सुतिरहेकी थिइन् ।

अहो ! ठेलामा हालेर बिरामीलाई अस्पताल ? दृश्यले मथिङ्गल हल्लायो । कहाँबाट ल्याएको होला ? के भएको होला ? एम्बुलेन्समा हालेर लैजानुपर्ने बिरामीलाई ठेलामा हालेर ल्याउनुपर्ने बाध्यता के होला ? दिमागमा एकपछि अर्को प्रश्न आयो ?

हतार–हतार सोध्यौं, कहाँ जान लाग्नुभएको ?

जवाफ आयो : डायलासिस गराउन वीर अस्पताल ।उनी अस्पताल नजिक पुगिसकेका थिए । त्यसैले हामीसँग एम्बुलेन्स बोलाउने समय पनि थिएन । तर, उनलाई पछ्यायौं । उनी वीर अस्पताल पुगेर महिलालाई डायलासिसका लागि पठाएपछि उनसँग हामीले बिरामी को हुन् ? के भएको हो ? किन ठेलामा हालेर अस्पताल ल्याउनुपर्‍यो ? भनेर जान्न चाह्यौं ।

उनी धादिङको गंगा जमुना गाउँपालिका गलनेका डम्बरबहादुर सिम्खडा रहेछन् । ठेलामा राखेर ल्याइएकी बिरामी उनकी श्रीमती रहिछन् । लकडाउनका कारण गाडी चल्न छाडेपछि ट्याक्सी भाडा तिर्ने पैसा भएन, त्यसैले सामाखुसीबाट श्रीमतीलाई ठेलामा हालेर अस्पताल ल्याई डायलासिस गराउन थालेका रहेछन् । डम्बरबहादुर भन्छन्, ‘लकडाउन हुञ्जेल यसरी नै आउजाउ गर्नुपर्ला ।’

उनले आफ्नो कथा यसरी सुनाए ।

मेरो नाम डम्बर बहादुर सिम्खडा हो । घर धादिङको गंगा जमुना गाउँपालिकाको गलने भन्ने ठाउँमा हो । अहिले सामाखुशीमा बस्छु । मेरी श्रीमती सीता विगत ८ वर्षदेखि बिरामी छिन् । तर, अनेक उपचार गर्दा पनि रोग पत्ता लागेन ।

एक वर्ष अगाडि उनको मिर्गौलामा समस्या भएको कुरा पत्ता लाग्यो र नियमित डायलासिस गराइरहेको छु । लकडाउन अघिसम्म सामाखुशी नजिकैको एउटा डायलासिस सेन्टरमा निःशुल्क डायलासिस गराइरहेको थिएँ । लकडाउनपछि त्यहाँ निःशुल्क डायलासिस नगराउने भन्ने सूचना जारी भयो ।

मैले त्यहाँ गएर ‘किन यस्तो गरियो भनेर सोधपुछ गरेँ । उनीहरुले स्वास्थ्य मन्त्रालयमा गएर कुरा गर्नू भने । म मन्त्रालय पनि गएँ । हामीलाई सरकारी अस्पतालमा डायलासिस गर्न सिफ्ट गरिएको रहेछ । तर, त्यो सूचीमा मेरी श्रीमतीको नाम थिएन । मैले घटनाको बेलिविस्तार लगाएपछि मन्त्रालयका एक कर्मचारीले वीर अस्पतालमा डायलासिस गराउन नाम टिपाइदिए ।

तर बिरामीलाई सामाखुशीबाट वीर अस्पताल ल्याउन सजिलो छैन । ट्याक्सीबाट आउजाउ गर्न भाडा महंगो पर्छ । पहिला सामाखुशी नजिक हुँदा त ट्याक्सीमा लैजाँदा भाडा तिर्न मुस्किल हुन्थ्यो । ट्याक्सीको बिलले रिंगटा लगाउँथ्यो । फेरि एकदिन भाडा तिरेर मात्र भएन, हप्तामा दुई पटक डायलासिस गर्नुपर्छ ।

डायलासिस निःशुल्क भएपनि औषधि र अरु खर्च गर्दा एक पटकमा ५/७ हजार रुपैयाँ सकिन्छ । हप्तामा २ पटक ट्याक्सीमा अस्पताल आउजाउ गर्दा त धान्न नै सकिन्न ।

म ८ वर्षदेखि विदेशमा थिएँ । नेपाल आएको एक वर्ष भयो । विदेशबाट आएदेखि बेरोजगार छु । श्रीमतीको उपचार गर्दागर्दै कमाएको पैसा सकिइसकेको थियो । सरसापट र ऋण गरेर चलाइरहेको थिएँ । लकडाउन सुरु भएदेखि त झन धान्न गाह्रो भएको छ । औषधि किन्न र हातमुख जोर्न नै गाह्रो भइसकेको थियो । खर्च सम्झन थाल्यो भने केही सोच्न नै नसक्ने अवस्थामा पुग्थेँ ।

अस्पताल पनि आउन नसक्ने अवस्थामा भयो । त्यही बेला छिमेकीले ठेला किन्न र त्यसमै राखेर श्रीमतीलाई अस्पताल लैजान सल्लाह दिए । ठीकै लाग्यो । पैसा उनीहरुसँगै सरसापट मागेँ र सामाखुशी नजिकै गएर १४ हजारमा ठेला किनें ।

ठेला किनेपछि महंगो ट्याक्सी भाडा तिर्नु परेको छैन । आजकल बिहान सबेरै उठेर बजारबाट तरकारी किनेर ल्याउँछु आफू बसेको टोलमा बेच्छु । औषधि किन्नलाई खर्च जुटेको छ । ठेला किनेदेखि सजिलो भएको छ । यो ठेला नकिनेको भए श्रीमतीलाई डायलासिस गराउन ल्याउनसक्ने अवस्था नै हुने थिएन ।

अहिले वीर अस्पतालमा राम्रोसँग डायलासिस भइरहेको छ । कुनै समस्या छैन । डाक्टरहरुले राम्रो सहयोग गरिराख्नुभएको छ । डायालासिस सकिन कम्तीमा ३ देखि ४ घण्टासम्म लाग्छ । त्यसपछि श्रीमतीलाई ठेलामा हालेर फेरि घर लैजान्छु । फेरि अर्को पटक डायलासिस गराउन ठेलामा हालेर नै ल्याउँछु ।

लकडाउन हुञ्जेल यसरी नै आउजाउ गर्नुपर्ला ।

डाक्टरहरुले श्रीमतीको प्रत्यारोपण गर्न सकिने सुझाव दिएका थिए । तर मेरो ब्लड ग्रुप मिलेन । आफन्तको पनि त्यस्तै भयो । अब जिन्दगीभर डायलासिसकै भर पर्नु पर्ला जस्तो छ । समस्या त लकडाउअघि पनि थियो, अहिले पनि छ । तर, आजकल समस्याहरुसँग बानी परिसक्यो । समस्याहरु त दैनिकी जस्ता भए ।

Related Articles

Back to top button
Close