News

नेपालको नक्साबाट गायब भएको भारतको ऐतिहासिक नक्सामा पनि लिपुलेक र लिम्पियाधुरा नेपालकै भएको प्रमाण भेटियो


काठमाडौं । नेपालको नक्साबाट गायब भएको लिपुलेक र लिम्पियाधुरालाई भारतको ऐतिहासिक नक्सामा कालापानीको शिर हो भनी सीमा छुट्याएको पाइएको छ । भारतले सन् १८२३, १८४८ र १८५८ मा जारी गरेका नक्सामा कालीनदीलाई सीमा क्षेत्र मानिएको छ, जसको मुहान लिम्पियाधुरामा पर्ने उल्लेख छ । भारत आफैंले जारी गरेको पुरानो नक्सा नै ऐतिहासिक प्रमाण हो ।

सन् १८३० मा सर्भे भएको आधारमा जारी हिस्दुस्तानको पश्चिमी प्रदेशको नक्सामा लिम्पियाधुराबाट बग्ने कालीनदीको मुहानलाई नेपालको सिमानाका रूपमा उल्लेख गरिएको छ । भारत आफंैले पुनः प्रिन्ट गरेर सन् १८४८ मा नक्सा जारी गर्दा पनि लिम्पियाधुराबाट बग्ने कालीनदीलाई सीमा मानेको छ । तर, अहिले भारतले सानो खोलालाई कालीनदी भएको दाबी गर्दै आएको छ ।

तथ्यअनुसार सन् १८१६ को सुगौली सन्धिको धारा ५ अनुसार लिम्पियाधुरा कालीनदीको मुहान हो । कालीनदीलाई नै नेपाल–भारतको सिमाना मानिएको छ । त्यसयता ४४ वर्षसम्म लिम्पियाधुरा नै कालीको मुहानका रूपमा निर्विवाद थियो । २०१८ सालमा लिम्पियाधुरा क्षेत्रको गुन्जी, गर्बयाङ र नाभी गाउँमा नेपालले जनगणना गरेको प्रमाण नेपालसँग छ । नेपालले लिम्पियाधुरा र लिपुलेक आफ्नो भएको अर्को ऐतिहासिक प्रमाण भनेको लाइब्रेरी अफ कंग्रेस, वासिङ्टनडिसीमा रहेको नक्सा पनि हो । सन् १८२७ मा जारी भएको सो नक्सामा कालीनदी स्पष्ट देखिन्छ । त्यसको उद्गम लिम्पियाधुरा हो भन्ने स्पष्ट छ ।

सन् १८५६ मा सर्भे अफ इन्डियाले जारी गरेको नक्सामा पनि लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालमा रहेको उल्लेख छ । कालीनदीको उद्गम थलो सो नक्सामा लिम्पियाधुरा रहेको जनाइएको छ ।

१ नोभेम्बर १८६० मा बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलाई फिर्ता गर्न सम्झौता भएको थियो । सन् ७ जनवरी १८७५ मा दाङको डुडुवा क्षेत्र सीमांकन गर्दाको नेपाली नक्सामा समेत लिम्पियाधुरालाई नेपालको भूभाग भनिएको छ ।

सन् २०१४ मा भारतीय प्रधानमन्त्रीका रूपमा नरेन्द्र मोदी नेपाल आउँदा सुस्ता र कालापानीसहित सबै सीमाविवाद समाधान गर्ने सहमति भएको थियो । जसअनुसार सुस्ता र कालापानीका विषयमा टुंगो लगाउने प्रस्ताव तयार गर्न परराष्ट्र सचिवहरूलाई जिम्मा दिइएको थियो । तर, अझै सो समस्या समाधान हुन सकेका छैन । यो समाचार आजको राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन् ।

Related Articles

Back to top button
Close